चीनमा देखिएको रहस्यमयी भाइरसको प्रभाव दक्षिण कोरियासम्म

डिसी नेपाल
६ माघ २०७६ १७:३६

बेइजिङ (एजेन्सी) । चिनियाँ निकायहरू एउटा रहस्यमय भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटनाहरू प्रकाशमा आएको विवरणहरूमा जनाइएको छ । योसँगै पहिलो पटक उक्त भाइरस चीनमा वुहानभन्दा बाहिर फैलिएको प्रमाणित भएको छ । बेइजिङ र सेन्जेनमा पनि उक्त भाइरसको सङ्क्रमण देखिएको छन् ।

दक्षिण कोरियामा समेत सोमवार कोरोनाभाइरससँग जोडिएको सङ्क्रमण देखा परेको थियो। जापान र थाइल्याण्डमा पनि सङ्क्रमण भएका छन् । अहिलेसम्म पुष्टि भएका सङ्क्रमणको सङ्ख्या २०० नाघेको छ र श्वासप्रश्वाससँग जोडिएका सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरूले वुहानमा शुरूमा गएको डिसेम्बर महिनामा देखिएको यो सङ्क्रमणमा कोरोनाभाइरस देखिएको उल्लेख गरेका छन् । वैज्ञानिकहरूले उक्त भाइरसबाट निमोनियाको सङ्क्रमण देखिने भन्दै धेरै सङ्क्रमण अझै थाहा हुन नसकेको हुनसक्ने बताएका छन् ।

युकेमा रहेका विज्ञहरूले संङक्रमितहरूको सङ्ख्या सार्वजनिक गरिएका विवरणभन्दा ठूलो हुनसक्ने जनाएका छन् । उनीहरूले त्यो संख्या १,७०० आसपास रहेको उल्लेख गरेका छन् । यसै हप्ताको चिनियाँ नयाँ वर्षका अवसरमा लाखौं व्यक्तिहरू आफ्ना परिवारलाई भेट्न आवतजावत गर्ने क्रममा अनुगमनमा कडाइ गर्ने चीनले वाचा गरेको थिए । वुहानका अधिकारीहरूले १३६ वटा सङक्रमणका नयाँ घटना पुष्टि भएको र थप एक जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका थिए । आइतवार अबेरसम्ममा गम्भीर अवस्थामा रहेका नौसहित १७० जनाको वुहानमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

वुहानको भ्रमण गरी फर्किएका दुई जनाको बेइजिङस्थित एउटा जिल्ला अस्पतालमा निमोनियाको उपचार भइरहेको जनाइएको छ । उक्त भाइरसको सङ्क्रमण अन्य देशसम्म पनि पुग्न थालेको छ। थाइल्याण्ड र जापानमा देखा परेको सङ्क्रमणमा वुहानको यात्राबाट फर्किएका मानिसहरूसँग जोडिएको छ । सोमबार दक्षिण कोरियाले उक्त भाइरसको सङक्रमण आफ्नो देशमा पनि फेला परेको बताएको छ । ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण स्थानीय अस्पतालमा भर्ना भएकी एक ३५ वर्षीया महिला वुहानबाट फर्किएकी थिइन र उनको उपचार भइरहेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्था रहेको जनाएको छ । उक्त निकायले भाइरसको श्रोत, फैलावट र डीएनएमा देखिएका परिवर्तनका विधि अझै अस्पष्ट रहेको उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनावरबाट उक्त भाइरस उत्पत्ति भएको हुनसक्ने उल्लेख गर्दै केही मानवमा सो सङ्क्रमण फैलिएको जनाएको छ । थप अध्ययनपछि मात्रै उक्त सङ्क्रमण फैलनुको कारण प्रष्ट हुने उसको भनाइ छ । कोरोनाभाइरसको जोखिम कम गर्न असुरक्षित जनावरहरूसँग सम्पर्क नराख्ने, मासु र अण्डालाई पूरा पकाएरमात्रै खानुपर्ने र रुघाखोकीको सङ्केत देखिएका बिरामीसँग नजिकै नबस्न सुझाव दिइएको छ ।

बिरामीबाट सङ्कलन गरिएको र चीन तथा डब्लुएचओका प्रयोगशालामा परीक्षण गरीएका नमुनाहरूले कोरोनाभाइरसले सङ्क्रमण निम्त्याएको प्रमाणित गरेका छन् । कोरोनाभाइरस भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। योसँगै मानवलाई सङ्क्रमित गर्ने भाइरसको सङ्ख्या सात पुगेको छ । कोरोनाभाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ तर श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमण सार्स पनि कोरोनाभाइरसले नै निम्त्याएको थियो । सन् २००२ मा चीनमा सार्सले ७७४ जनाको ज्यान लिएको थियो भने ८,०९८ जनालाई संङक्रमित गरेको थियो । वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो । यसको अनुवंशिक अध्ययनले नयाँ भाइरस सार्ससँग निकट रहेको देखाउँछ । कोरोनाभाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै अन्य कोरोनाभाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई सङ्क्रमित बनाएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *