अबदेखि निर्वाचन पाँच तारे होटलमा होइन भृकुटी मण्डपमा पाल टाँगेर गर्छौः एनआरएनए

डिसी नेपाल
७ माघ २०७६ १४:२६

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अबदेखि आफ्नो निर्वाचन पाँच तारे होटलमा नगर्ने भएको छ । पोखराको रुपाकोट रिसोर्टमा जनवरी १८ र १९ तारिख २ दिनसम्म बसेको संघको ‘फेस टु फेस मिटिङ’ ले निर्वाचनलाई कम खर्चिलो बनाउन यस्तो निष्कर्ष निकालेको हो ।

संघका अहिलेसम्मका निर्वाचनहरु तारे होटेलमा हुँदै आएका थिए । सम्मेलनमा करोडौं रुपैयाँ खर्च हुन्थ्यो। सुरक्षाको कारण देखाउँदै विश्व सम्मेलन संघले तारे होटलमा आयोजना गर्थ्यो। होटलमा लाग्ने खाना खर्च र अन्य लजिष्टिकका लागि प्रतिनिधिले २०० अमेरिकी डलर बराबरको दर्ता शुल्क तिर्नुपर्थ्यो । दर्ता शुल्कका कारणले थुप्रै विकृतिहरु पनि ल्याएका थिए । चर्को दर्ता शुल्ककै कारण खाडी तथा मध्यपूर्वका कतिपय प्रतिनिधि मतदानबाट बञ्चित हुन्थे ।

संघको यो निर्णयले निर्वाचनलाई कम खर्चिलो र निःशुल्क दर्ताको बाटो खोलेको एनआरएनएको दावी छ । निर्वाचन अब ५ तारे होटलमा नगरेर राष्ट्रिय दलका निर्वाचनमा जस्तै भृकुटी मण्डपमा सामान्य तरिकाले गर्ने एनआरएनएको योजना छ । पाल टाँगेर, पाउरोटी र समोसा खाएर शुन्य दर्ता शुल्कमा चुनाब सम्पन्न गराउन सक्ने एनआरएनएको विश्वास छ ।

त्यस्तै निर्वाचनको बेला हुने बाहिरी राजनैतिक प्रभाव कम गर्न काठमाडौ बाहिर पनि चुनाव गर्ने सक्ने एनआरएनएको सोंच छ । पोखराको प्रत्यक्ष बैठकले संघको निर्वाचन र विश्व सम्मेलन पनि अब एकैसाथ नगर्ने निर्णय गरेको छ । संघको निर्वाचनका कारणले विश्व सम्मेलन प्रभावकारी नभएको भन्दै पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष आयोजना गर्ने एनआरएनएको योजना छ ।

यसअघि गैरआवासीय नेपाली संघ, नेपाल सरकार र उद्योग बाणिज्य महासंघले हरेक दुई वर्षमा काठमाडौमा एनआरएन विश्व सम्मेलन गर्दै आएको थियो । विश्व सम्मेलनसँगै गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको पनि निर्वाचन हुने गरेको थियो । प्रधानमन्त्री, राष्ट्रपती, परराष्ट्रमन्त्रीलगायत नेपाल सरकारका महत्वपूर्ण आोहदाका व्यक्तीहरुको उपस्थितिले गर्दा पूरै राष्ट्रिय मिडिया र राजनैतिक दलहरुको ध्यानाकर्षण विश्व सम्मेलन र निर्वाचन हुने गरेको थियो । यसले निर्वाचन प्रभावित हुँदै आएको थियो । पोखरा बैठकमा विशेष छलफल गरेर अबदेखि पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष गर्न लागिएको बताइएको छ। २०२१ अक्टोबरमा संघको निर्वाचन मात्र हुने जनाइएको छ । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *