के मास्कले भाइरस छेक्न सक्छ?

डिसी नेपाल
९ माघ २०७६ १६:०७

काठमाडौं। भाइरस सङ्कक्रमणको चर्चा हुँदा धेरै देखिने तस्बिर भनेको सर्जिकल मास्कले नाक मुख छोपेका मानिसहरूको हो।

सामान्यतया चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रङ्गको मास्क थुप्रै देशमा मानिसहरूले सङ्क्रमणबाट जोगिन प्रयोग गर्छन्।

चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा त्यस्तो मास्कको प्रयोग भैरहेको छ तर त्यहाँ वायु प्रदुषणको मात्रा उच्च हुँदा पनि मानिसहरू त्यस्तो मास्क लगाउने गर्छन्।

भाइरसविज्ञहरू हावाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा शङ्का व्यक्त गर्दछन्।

तर हातबाट मुख छोइँदा सङ्क्रमण सर्न सक्ने अवस्थामा भने त्यस्ता मास्क प्रभावकारी हुने केही प्रमाण भने छ।

अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो।

तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा पनि त्यस्तो मास्कको प्रयोग भएको हो।

युनिभर्सिटि अफ लण्डनको सेन्ट जोर्जेजका डा. डेभिड क्यारिंगटनले बीबीसी न्यूजसँग भने, ‘सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन।’

धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन्।

तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने त्यस्ता मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन्।

न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन्।

युनिभर्सिटि अफ नटिंगमको मोलिक्युलर भाइरोलोजी विषयका प्राध्यापक जोनाथन बल भन्छन्, ‘अस्पतालभित्र नियन्त्रित वातावरणमा गरिएको एउटा प्रयोगका क्रममा सर्जिलक मास्क इन्फ्लुएन्जा सङ्क्रमण रोक्न उपयोगी देखिएको थियो।’

तर प्राध्यापक बल भन्छन्, ‘सर्वसाधारणका माझ बाहिरी वातावरणमा ती मास्कको प्रभावकारिताका सम्बन्धमा गरिएका अध्ययनबाट प्राप्त तथ्याङ्क त्यस्ता मास्कको पक्षमा देखिँदैन।’

‘लामो समयसम्म मास्क लगाएर बसिरहनु चुनौतीपूर्ण कार्य हो।’

क्वीन्स युनिभर्सिटि बेलफास्टस्थित वेलकम–वोल्फसन इन्टिट्यूट फर एक्सपेरिमेन्टल मेडिसिन विभागका डा. कनर ब्याफर्ड भन्छन्, ‘मास्कभन्दा सरसफाइका सामान्य उपायहरू अपनाउनु नै सङ्क्रमणबाट जोगिन मास्क लगाउनुभन्दा धेरै प्रभावकारी उपाय हो।’

उनी भन्छन्, ‘छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिमलाई धेरै हदसम्म सीमित तुल्याइदिन्छ।’

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले फ्लुजस्ता रोग लगाउने भाइरसबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सकिने सुझाव दिएको छः

मनतातो पानी र साबुनले नियमित रूपमा हात धुने

सकेसम्म आफ्नो आँखा र नाक नछुने

स्वस्थ र तन्दुरूस्त जीवनशैली अपनाउने

पब्लिक हेल्थ इंगल्याण्डका डा. जेक डनिंग भन्छन्, ‘फेस मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ तर वास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पुर्याउँछन् भन्ने प्रमाण छैनन्।’

उनी भन्छन् मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सहि तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सहि तरिकाले फाल्नु पर्छ।

डा। डनिंग भन्छन् कि भाइरस सङ्क्रमणको चिन्ता छ भने आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ। (बीबीसी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *