अग्नि सापकोटालाई सभामुख निर्वाचित नगर्न भन्दै सर्वोच्चमा रिट

डिसी नेपाल
१० माघ २०७६ १६:२१

काठमाडौं। नेकपा सांसद अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित नगर्न भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रतिनिधिसभामा सभामुखका लागि भएको उम्मेदवारी दर्तामा सापकोटाको एकल उम्मेदवारी परेको छ।

हत्या आरोपमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै सापकोटालाई सभामुख नबाउन शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमा सापकोटलाई गिरफ्तार गरेर कानूनी प्रक्रिया अगाडि बढाउनसमेत माग गरिएको छ।

काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेका सापकोटालाई नेकपाले उम्मेदवार बनाएको छ। एकल उम्मेदवारी परेकाले आगामी आइतबार हुने सभामुखको निर्वाचनमा उनी निर्विरोध निर्वाचित हुने निश्चित छ।

सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको वा नपरेको बारे सोधेको थियो।

मानवअधिकारवादीहरुले सापकोटालाई नेकपाले उम्मेदवार बनाएसँगै लगातार माइतीघरमा प्रदर्शनसमेत गर्दै आएका छन्। उनीहरुले हत्या अभियोग लागेको व्यक्तिलाई लोकतान्त्रिक अभ्यास गर्ने सर्वोच्च संस्थाको प्रमुख बनाउनु दण्डहिनताको पराकाष्ठा हो भनेका छन्।

यही प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहाकार सुशील प्याकुरेललेसमेत सल्लाहाकारबाट शुक्रबार राजीनामा दिएका छन्। स्मरण रहोस सापकोटाविरुद्ध सर्वोच्चमा निवेदन प्याकुरेलले नै दर्ता गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *