कतारको निर्माण र विकासमा नेपाली कामदारको प्रशंसनीय योगदानः राजदूत भारद्वाज

डिसी नेपाल
१२ माघ २०७६ १३:०२

दोहा । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारको निर्माण र विकासमा नेपाली कामदारको प्रशंसनीय योगदान रहेको बताएका छन् । शुक्रबार दोहामा रहेको दूतावास भवनमा आयोजित श्रमिक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रममा उनले कतारको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन् ।

कतार सरकारका उच्च अधिकारीहरूसँगको भेटमा उनीहरूले नेपाली नागरिकहरू प्रशंसा र कदरका पात्र रहेको तथा कतारको निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याएको कुरा आफूलाई बताएको उनले जानकारी गराए । त्यस्तै राजदूत भारद्वाजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै वैधानिक तवरले नेपालमा पैसा पठाउनका लागि आग्रह समेत गरे ।

कतारको फ्याकल्टी म्यानेजमेन्ट तथा मेन्टिनेन्स कम्पनी र उडल्याण्ड ट्रेडिङ तथा कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा राजदूत भारद्वाजले उपस्थित सबैलाई श्रमिकका हक हितका लागि राजदूतावासले चालेका पहलकदमीहरूको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा श्रम सम्बन्धि विषयहरू तथा कतारमा नेपाली कामदारले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरू र त्यस प्रकारका समस्या आउन नदिने सचेतनाका उपायहरूका बारेमा श्रम काउन्सिलर शिवराम पोखरेल र श्रम सहचारी नरेन्द्रराज ज्ञवाली , राहदानी ट्राभल डकुमेन्ट तथा व्यक्तिगत माग प्रमाणिकरण बारेमा द्वितीय सचिव ऋचा भट्टराई तथा विभिन्न प्रकारका कन्सुलर सम्बन्धी विषयमा द्वितीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिएका थिए ।

कार्यक्रममा उपनियोग प्रमुख लक्ष्मण खनालले स्वागत मन्तव्य राखेका थिए भने द्वितीय सचिव प्रवीण भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरू मध्येबाट कार्यक्रमको औचित्यताको बारेमा जुनु मगर र ओम राज भण्डारीले बोलेका थिए ।

कतारमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली नागरिकहरूले कतारको विद्यमान कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरूको बारेमा आवश्यक जानकारी उपलब्ध गराउन तथा कुनै कारणवश केही समस्या आएमा के कसरी समाधान गर्ने भनेर नेपाली राजदूतावास, दोहाले समय समयमा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको दूतावासले जनाएको छ । यस प्रकारका कार्यक्रमको मूल उदेश्य नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन चाल्नु पर्ने आवश्यक कदमहरुको बारेमा जानकारी गराउनु रहेको दूतावासको दावी छ ।कार्यक्रमको समापन पश्चात सहभागीहरुको लागि दूतावासले रात्री भोजको व्यवस्था गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *