हिउँले पुरिएका दुई युवकको शव फेला

डिसी नेपाल
१३ माघ २०७६ २१:२३

मेलम्ची । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव सोमबार हिउँले पुरिएको अवस्थामा फेला परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौँ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।

उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृत अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोंचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा उनीहरुको शव फेला पारेको थियो ।
मृतक दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजी कार्य तीव्र पारिएको थियो । हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टे फेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पासहितको उद्धार टोली सो क्षेत्रमा पुगेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *