कोरोना भाइरस फैलिँदा विश्व स्वास्थ्य संगठनद्वारा संसारभर आपतकाल घोषणा

डिसी नेपाल
१७ माघ २०७६ ३:०२

वासिंगटन डिसी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बढ्दो फैलावटले संसारभर स्वास्थ्य समस्या ल्याएको भन्दै संसारभर आपतकाल घोषणा गरेको छ ।

जनवरी ३० तारिक विहीबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनमा मात्र नभई संसारभर फैलिएका कारण आपतकाल घोषणा गर्नु परेको उल्लेख गरेको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा सो भाइरस चीनबाहिर पनि फैलादो क्रममा देखिएकोबारे चासो व्यक्त गर्दै संसारभरको मानव स्वास्थ्यमा नयां चुनौति आएकोबारे छलफल भएको थियो । सो संगठनका अनुसार, चीनवाहिर १८ देशमा ८२ वटा संक्रमणका केसहरु देखिइसकेको छ ।

मान्छेबाट मान्छेमै सो भाइरस सरेका ३ वटा घटनाहरु चीनवाहिरका तीनवटा देशमा प्रमाणित भएको पनि सो संगठनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । तीन संक्रमणमध्ये एउटा केस गम्भीर देखिएको तर चीनवाहिर यो भाइरसका कारण मृत्यु भएको विवरण भने प्राप्त नभएको संगठनले जनाएको छ ।

चीनले विश्व स्वास्थ्य संठनलाई उपलब्ध गराएको तथ्यांकअनुसार, उहानबाट शुरु भएको यो भाइरसको फैलावटले चीनमा ७ हजार ७ सय ११ जनामा संक्रमण देखिइसकेको र यीमध्ये १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

चीनका विभिन्न स्थानमा फैलिएको यो भाइरसको उपचार गरेर १२४ जना व्यक्तिहरु अस्पतालबाट भाइरस मुक्त भई घर फर्किएको चीनले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । जसअनुसार, हाल चीनमा १२ हजार १ सय ६७ जना मानिसहरुमा थप संक्रमण भएको आशंका गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले आपतकालको घोषणा गर्दै विश्वका सबै देशहरुले यो समस्याको सामना गर्न उचित सावधानी अपनाउनु पर्ने उल्लेख गरेको छ । बीवीसीका अनुसार, चीनवाहिर मान्छेवाट मान्छेमा सो भाइरस संक्रमणका आठबटा केसहरु आइसकेका छन् । अमेरिका, जर्मनी, जपान र भियतनाममा सो भाइरस मान्छेबाट मान्छेमा सरेको प्रमाणित भइसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *