मुसाले बचाइरहेछन् हजारौं मानिसको ज्यान, विश्वले गरिरहेछ सलाम

डिसी नेपाल
१८ माघ २०७६ १४:०२

काठमाडौं। मुसाबाट हामीलाई कुनै न कुनै किसिमको समस्या हुन्छ । उनीहरु जुनसुकै चीज पनि काटिदिन सक्छन् । कहिले कुनै सामान चोरी गरिदिन्छन्, कहिले खाने कुरा बर्बाद गरिदिन्छन् । तर, कम्बोडियामा भने मुसाहरु हिरो हुन् किनकि यहाँ मुसाहरुले हजारौं मानिसहरुको ज्यान बचाइरहेका छन् ।

हालै मुसाहरुले कम्बोडियाको सियेम रिप प्रान्तको त्रापियांग क्रासांग गाउँमा ७ लाख ८८ हजार २५७ वर्ग मिटर क्षेत्रफलको जमिनमा बारुदी सुरुङ (ल्याण्डमाइन) खोजेर तिनीहरुलाई नष्ट गर्न सहयोग गरे । त्यसपछि यो जमिन १९ कम्बोडियाली परिवारलाई फिर्ता दिइयो । यी मुसाहरुले १७० ल्याण्डमाइन खोजेका थिए । यी ल्याण्डमाइनहरु वर्षौंदेखि जमिनमुनि थिए र विष्फोट भएका थिएनन् । यिनीहरु विष्फोट भएर मानिस र जनावरहरु मर्ने खतरा कायमै थियो । यी ल्याण्डमाइन खोजेर नष्ट गर्न मुसाहरुलाई केवल ३ महिना लाग्यो ।

यी मुसाहरुलाई ल्याण्डमाइन खोज्ने प्रशिक्षण एन्टि पर्सनल ल्याण्डमाइन्स डिटेक्सन प्रोडक्ट डेभलपमेन्ट (अपोपो) नामक संस्थाले दिन्छ । यो संस्थाको स्थापना १९९७ मा भएको थियो । तर, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रुपमा यसको दर्ता भने २०१७ मा मात्र भएको हो । यो संस्थाको स्थापना बार्ट विटजेन्सले गरेका थिए । उनले अफ्रिकाका पाउच्ड र्याट (खास प्रजातिका मुसा) कुनै पनि किसिमका बारुदी सुरुङ खोज्न सक्षम भएको पाएपछि उनले मुसाबाट बारुदी सुरुङ खोज्ने प्रस्ताव राखेका थिए ।

अपोपोले आफ्ना मुसाहरुको सहयोगले कम्बोडिया, अंगोला, जिम्बाब्बे र कोलम्बियामा बारुदी सुरुङ खोजेर हजारौं मानिसहरुको ज्यान बचाइसकेको छ । अहिलेसम्म यी मुसाहरुले यी देशहरुमा १ लाख ३८ हजारभन्दा धेरै ल्याण्डमाइन खोजिसकेका छन् । जनवरी २०१९ मा जारी गरिएको अपोपोको तथ्यांकअनुसार उनीहरुसँग अहिले पनि १५१ प्रशिक्षित मुसाहरु छन् । यीमध्ये २६ मुसाले केवल प्रजननको काम गर्छन् । ५३ मुसाहरु बारुदी सुरुङ खोज्नको लागि प्रशिक्षित छन् । ३९ मुसाहरु अनुसन्धान र विकासका लागि राखिएका छन् । १० मुसाहरु रिटायर भइसकेका छन् भने १० मुसाहरुलाई अमेरिकाका चिडियाखानामा शान्तिदूत बनाएर पठाइँदैछ ।

हरेक मुसालाई हप्तामा ५ दिन बारुदी सुरुङ खोज्ने प्रशिक्षण दिइन्छ । एक दिनमा यिनीहरु केवल आधा घण्टा प्रशिक्षण लिन्छन् । हप्ताका बाँकी २ दिन यी मुसाहरु केवल पार्टी गर्छन् । एक मुसाको प्रशिक्षणमा हरेक महिना करिब साढे ६ सय नेपाली रुपैयाँ बराबरको खर्च लाग्छ । यी मुसाहरुको आयु ८ देखि १० वर्ष हुन्छ । यिनीहरु आफ्नो जीवनमा ६ देखि ७ वर्ष काम गर्न सक्छन् । यी मुसाहरुको सहयोगमा एउटा टेनिस कोर्ट बराबरको क्षेत्रमा २० मिनेटमा ल्याण्डमाइन खोज्न सकिन्छ । यही क्षेत्रमा मेटल डिटेक्टरको माध्यमबाट ल्याण्डमाइन खोज्न १ देखि ४ दिन लाग्छ । मुसाहरु ल्याण्डमाइन खोज्न शतप्रतिशत सफल देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *