समाजवादी पार्टी र राजपाबीचको एकता ‘च्याप्टर क्लोज’

डिसी नेपाल
२० माघ २०७६ १०:५४

काठमाडौं। माघ १७ गते एक कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाको माग बमोजिम आफूहरुले सरकार छाडेको तर एकताका विषयमा राजपाले कुनै पहल नगरेको गुनासो गरे।

राजपाले समाजवादीसँग एकताका लागि पहिलो शर्तका रुपमा सरकारबाट बाहिरिनुपर्ने अडान राखेको थियो। प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्ने प्रस्तावमाथि मन्त्रिपरिषद बैठकमा छलफल गर्न अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो।

त्यसयता समाजवादी पार्टी र राजपाबीच एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। दुवै दलले पार्टी एकताका लागि वार्ता टोली गठन गरेका छन्। विभिन्न चरणमा वार्ता टोलीबीच छलफल पनि भएको छ। तर एकताले गति लिएको छैन।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैचारिक रुपमा फरक दलबीच एकता समस्या हुने बताउँछन्। ‘हामीले सुरुदेखि नै यो एकता प्राकृतिक होइन भनेका थियौं,’ यादवले डिसी नेपालसँग भने, ‘राजनीतिक शक्ति निर्माण आफैंमा जटिल प्रक्रिया हो। उहाँहरु (समाजवादी पार्टी) र राजपाबीच सिद्धान्त नै फरक भएका कारण एकीकरण संभव नभएको हो।’

समाजवादी पार्टीले राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताउँदै आएको छ। तर राजपाले भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रपतीय प्रणालीमा जान नसकिने जनाउँदै आएको छ।

‘हामीले मिश्रित निर्वाचन प्रणाली र प्रधानमन्त्रीय पद्धतिलाई आफ्नो सिद्धान्त मानेका छौं,’ उनले भने, ‘समाजवादी पार्टीले राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणालीका वकालत गर्दै आएको छ। यस्तो अवस्थामा कसरी एकता संभव हुन्छ?’

‘हामीले सुरुदेखि नै यो एकता प्राकृतिक होइन भनेका थियौं,’  ‘राजनीतिक शक्ति निर्माण आफैंमा जटिल प्रक्रिया हो। उहाँहरु (समाजवादी पार्टी) र राजपाबीच सिद्धान्त नै फरक भएका कारण एकीकरण संभव नभएको हो।’ : राजकिशाेर यादव

तर समाजवादी पार्टीले भने आफूहरु एकता कै पक्षमा रहेको जनाएको छ। अग्रगामी शक्तिबीच एकता गर्दै वैकल्पिक शक्ति निर्माण गर्ने महत्वपूर्ण अवसर आएको उल्लेख गर्दै समाजवादी पार्टीका प्रवक्ता प्रकाश अधिकारीले भने–वैकल्पिक शक्ति निर्माण गर्ने यो अवसर राजपाले गुमाउला जस्तो लाग्दैन।’

समाजवादी पार्टी र राजपाबीच राजनीतिक र सैद्धान्तिक विषयमा सहमति हुन नसकेको उल्लेख गर्दै प्रवक्ता अधिकारीले ती विषय छलफलमार्फत समाधान गर्न सकिने बताए।

‘हामीले अहिलेको व्यवस्थाबाट परिवर्तन र मुलुकको विकास संभव छैन भनेर नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा उठाएका हौं,’ अधिकारीले डिसी नेपालसँग भने, ‘यी मुद्दामा जान नसकिने हो भने संविधान संशोधन किन आवश्यक पर्यो?’

उनले समाजवादी पार्टीले यिनै विषयलाई सुधार गर्न संविधान संशोधनको मुद्दा उठाएको र यी विषयमा सहमति नहुने हो भने राजपाले संविधान संशोधनको माग गर्नुको औचित्य नहुने दाबी गरे।

संविधान संशोधनमार्फत शासन प्रणालीमा सुधार तथा निर्वाचन प्रणालीमा परितर्वन गरी मुलुकलाई अग्रगामी परिवर्तनमा लैजान सरकारमा सहभागी भएको र आफ्नो माग र मुद्दा सम्वोधन नभएपछि सरकारबाट बाहिरिएको उनको भनाइ थियो।

‘हामीले अहिलेको व्यवस्थाबाट परिवर्तन र मुलुकको विकास संभव छैन भनेर नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा उठाएका हौं,’  ‘यी मुद्दामा जान नसकिने हो भने संविधान संशोधन किन आवश्यक पर्यो?’ : प्रकाश अधिकारी

‘हामी जे कारणले भएपनि अहिले सरकारबाट बाहिरिएका छौं, जुन राजपको प्रमुख माग थियो,’ अधिकारीले भने, ‘अब वैकल्पिक शक्ति निर्माण गर्न समाजवादी र राजपाबीच एकता अपरिहार्य छ, त्यसका लागि समाजवादी पार्टी सधैं तयार छ।’

राजपाले भने अहिले कै शासकीय स्वरुप र निर्वाचन प्रणाली उत्तम रहेकाले यो भन्दा फरक प्रणालीका विषयमा राजपाले नसोचेको अध्यक्ष मण्डलका नेता यादवले बताए।

राजपाको आग्रहलाई मानेर समाजवादीले सरकार नछोडेको उल्लेख गर्दै यादवले प्रधानमन्त्रीले नै छोड्न बाध्य पारेपछि मात्र समाजवादीले सरकार छोडेको बताए। ‘जुन बेला प्रतिपक्ष मोर्चालाई बलियो बनाउन आवश्यक थियो, त्यो बेला समाजवादी पार्टी सरकारमा रमायो,’ यादवले भने, ‘अहिले सरकारमा बस्न नसक्ने अवस्था आएपछि सरकार छोडेर आयौं अब एकता गर्नुपर्छ भनेर हुन्छ?’

समाजवादी र रजापाबीच नेतृत्व व्यवस्थापनको विषयमा पनि कुरा मिलिरहेको छैन। अहिले राजपाभित्र ६ जना नेताको अध्यक्ष मण्डल रहेको छ। यी नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन।

‘अहिले राजपाले मोडेल अन्य दलले पनि अपनाएका छन्, यो राजपाका लागि खुशीको कुरा हो। नेता भनेको पार्टीको सम्पत्ति हो। यसमा राजपालाई हिनतावोध होइन गर्व लागेको छ,’ यादवले भने, ‘हामीले सुरु गरेको मोडले अहिले नेकपाले पनि अपनाएको छ। समाजवादी पार्टीले भने मुलुकमा वैकल्पिक शक्ति निर्माणका लागि राजपाबीच एकता हुने विश्वास गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *