कोरोना भाइरस प्रकोप: ज्यान गुमाउनेको संख्या ४२६ पुग्यो, २० हजारबढी संक्रमित

डिसी नेपाल
२१ माघ २०७६ ८:०६

काठमाडौँ । पछिल्लो समय चीनमा ब्यापक फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ सय २५ पुगेको छ । चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ सय ६१ जनाको ज्यान गएको थियो । सोमबार मात्रै चीनमा ६४ जनाको ज्यान गएको चाइना डेली ले जनाएको छ । उक्त भाईरसबाट हालसम्म २० हजार चार सय ३८ जना संक्रमित भएका छन् ।

उक्त दैनिकका अनुसार चीनमा हालसम्म ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् ।

मंगलबार बिहानसम्म हङकङमा १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ५० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले तयारी गरेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेकोमा एक सय ८० जना नेपालीले फारम भरेका थिए ।

सरकारले ती नेपालीलाई काठमाडौँ ल्याउन २ विमान तयारी अवस्थामा राखेको छ।

चीनबाट फर्काइएपछि उनीहरुलाई कम्तिमा १५ दिन विशेष निगरानी (क्वारेन्टाइन) मा राख्नुपर्ने भएकाले सम्भावित स्थानहरुको खोजी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *