पछिल्लो सात महिना भित्रका ३३ दुर्घटनामा, २५ जनाको मृत्यु

डिसी नेपाल
२३ माघ २०७६ १५:४४

सुर्खेत। सुर्खेतमा पछिल्लो सात महिनामा ३३ वटा सवारी साधन दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को सातमहिनामा ३३ वटा दुर्घटना भएका हुन्।

साउनदेखि माघको १८ गतेसम्म साना ठूला गरी ३३ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जनाए। प्रहरीका अनुसार साउनमा तीन वटा सवारी दुर्घटनामा तीन जनाकै मृत्यु भएको थियो।

भदौमा नौ दुर्घटनामा एकजना, असोजमा सात दुर्घटनामा ६ जना, कात्तिकमा दुई दुर्घटनामा एक जना, मंसिरमा तीन दुर्घटना दुई जना, पुसमा दुई दुर्घटनामा एकजना र माघ महिनामा सात वटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २७ जना गम्भिर र ६० जना सामान्य घाइते भएका छन्। त्यस्तै सवारी दुर्घटनामा चार वटा पशु चौपायापनि मरेका छन्।

ट्राफिक प्रहरीको कारबाहीमा पर्नेहरुको तथ्याङ्क हेर्दा अधिकांश चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने गरेका छन्। ट्राफिक नियमको पालना नगरी गाडी चलाउँदा सुर्खेतमा चालु आर्थिक वर्षको सात महिनामा साढे ६ हजार बढी चालक कारबाहीमा परेका छन्।

तथ्याङ्क अनुसार साउनदेखि माघ १८ गतेसम्म ६ हजार ६ सय २६ जना चालक कारबाहीमा परेका छन्। प्रहरीले पटक–पटक ट्राफिक जनचेतना फैलाउँदापनि कारबाही पर्नेको संख्या घटेको छैन।

कारबाहीमा पर्नेको तथ्याङ्कलाई हेर्ने हो भने अधिकांश चालकले ट्राफिक नियमको पालन गर्दैनन् भन्ने प्रष्ट हुन्छ। कारबाहीमा परेकामध्ये ६ सय १३ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ। कारबाहीमा पर्ने अधिकांश सचेत नागरिक नै रहेको प्रहरी बताउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *