मातृशिशु जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम लागू

डिसी नेपाल
२३ माघ २०७६ १७:५०

काठमाडौं । बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले विशेष लगानी गरी काम थालेको छ ।

गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि नगरले यो कार्यक्रम शुरु गरेको हो । नगरभित्रका १३ वटा वडामा लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

सरकारले दिँदै आएको सुत्केरीलाई यातायात खर्चमा नगरले १ हजार थपेर दिने गरेको उनले बताए। उनका अनुसार प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरासमेत उपलब्ध गराएको छ । कुखुरा उपलब्ध गराएसँगै औषधिसमेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जानकारी दिए ।

त्यस्तै करेसाबारीमा ताजा तरकारी उत्पादन गर्नका लागि बीउका साथै तालीम दिइएको उनले बताए । नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलब्ध गराएको छ । नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले बताए।

‘घरघरमा झण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरले अर्को कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवासुविधा दिन शुरु गरिएको प्रमुख रावलले जानकारी दिए।

नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भई सेवा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलाको सङ्ख्या वृद्धि भएको छ । दैनिक घरायसी काममा मात्र व्यस्त हुने ग्रामीण क्षेत्रका महिला अहिले सेवासुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले जानकारी दिए।

गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यप्रति चिन्तित हुँदै गर्भवती महिला स्वास्थ्य जाँचका लागि आउने गरेको उनको भनाइ छ । स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा बिस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको छ । खेतीयोग्य जमीन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलनसमेत बिस्तारै हट्दै गई करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्नेतर्फ उन्मुख भएको नलगाड नगरपालिका–८ विष्णुकुमारी खत्रीले जानकारी दिए ।

नमूना बस्तीलाई थप नमूना बनाउनका लागि सबै प्रकारका सूचक पूरा गर्न नगरपालिका लागेको छ । खानेपानी, स्वास्थ्य, सरसफाइ, विद्युत्, सडक र विभिन्न पूर्वाधारका कार्यक्रमसमेत जोडेर थप नमूना बनाउन लागिएको हो । नमूना बस्तीमा गर्भवती तथा सुत्केरी महिलालाई विशेष योजना बनाई कार्यक्रम सञ्चालन गरिएको नगरउपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिइन्। न्यायमा समानताका आधारमा दैनिक कार्य सञ्चालन गरी महिला तथा बालबालिकाको जीवनस्तर माथि उठाई नमूना नगर बनाउने अभियान जारी रहेको उनको भनाइ छ ।

जिल्लाको उत्कृष्ट नगरका रुपमा उदीयमान भएको नलगाडलाई थप विकास र समृद्धिका हिसाबले दुनियाँको आँखा लगाउने बनाउनु हाम्रो लागि मुख्य एजेन्डा भएको उनको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *