थुना परेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख नगद लिएर फरार भएपछि….
काठमाडौं। शुक्रबार महानगरी अपराध महाशाखा टेकुको टोलीले माइतीघरस्थित एक ल फर्ममा छापा मार्यो। प्रहरीले जनन्यायीक कानुनी सेवा केन्द्र माइतीघरका अधिवक्ता टंकबहादुर राना मगरलाई सोही स्थानबाट पक्राउ गर्यो।
एक कानुन व्यवसायी यसरी आफ्नो कार्यालयबाटै पक्राउ परेपछि ती अभिवक्ता किन पक्राउ परे भन्ने खोजी गर्दा आश्चार्यमा पार्ने तथ्य फेला पर्यो।
प्रहरीले उनलाई ४२ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ गरेको हो। राना मगरले नख्खु कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनका बाबुसँग नगद ४२ लाख रुपैयाँ लिएका रहेछन्। उनले रुपैयाँ त लिए कारागारमा रहेका व्यक्ति कारागार मुक्त भएनन्।
राजश्व छलि प्रकरणमा कारागारमा रहेका रमेश दाहाललाई छुटाइदिन्छु भन्दै राना मगरले रमेशका बाबु तिर्थराज दाहालबाट पटक पटक गरी नगद ४२ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। यसरी पैसा लिए पनि आफ्नो छोरा नछुटेपछि बाबु तिर्थराजले महानगरीय अपराध महाशाखामा रानामगरविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले सोही जाहेरीका आधारमा धनकुटा सहिद भूमी नगरपालिका ७ घर भै काठमाडौंमा कानुन व्यवसायको काम गर्र्दै आएका राना मगरलाई पक्राउ गरेको हो।
अपराध महाशाखाका डीएसपी मुकेशकुमार सिंहले पक्राउ परेका रानामगरमाथि ठगि मुद्दा चलाइने बताए। उनले रानामगरलाई प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिए।
नख्खु कारागारमा रहेका रमेश दाहाल पनि ‘नटवरलाल’ नै हुन्। उनले आफ्ना एक मित्रसँग मिलेर बाटोमा भेटिएको नागरिकतालाई प्रयोग गरी किर्ते कागजात बनाएर राजश्व छलि धन्दा चलाएका थिए।
बाटोमा भेटिएको अर्काको नागरिकतालाई कीर्ते कागजात तयार गरी कम्पनी दर्ता गराई रिचार्जकार्डको खरीद बिक्री कारोवार गरी राजस्व छल्ने विजयनारायण श्रेष्ठ र रमेश दाहाल पनि अहिले मुद्दा खेपिरहेका छन्।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७५ पुसमा पक्राउ गरी राजश्व विभागलाई कारवाहीका लागि बुझाएको थियो। राज्यलाई बुझाउनुपर्ने आयकर तथा मूल्य अभिवृद्धिकर नतिर्ने उद्देश्यले कार्य गरेको र असम्बन्धित व्यक्तिको नाममा कम्पनी दर्ता गराई राजश्व चुहावट गरेको आरोप उनीहरुमाथि छ ।
उनीहरुमाथि रु एक अर्ब छ करोड बिगो असुल गरी त्यसको दोब्बर हुन आउने रु दुई अर्ब १२ करोड बढी जरिवाना र तीन वर्षको कैद मागदाबी गरिएको छ।







डिसी नेपाल







Facebook Comment