कोरोना संकट : नेपालीको उद्धार गर्ने अन्तिम तयारीमा सरकार

डिसी नेपाल
२७ माघ २०७६ १२:००

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण संकटमा परेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले अन्तिम तयारी गरेको छ।

प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, परराष्ट्रमन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका अधिकारी रहेको एक समिति बनाएर सरकारले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको चीनको हुवेई प्रान्तमा फसेका नेपालीको उद्धार गर्ने तयारी गरेको हो।

चीनको वुहान पुगेर नेपाली एयरलाइन्सले नेपालीहरुको उद्धार गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। परराष्ट्र स्रोतले भन्यो, ‘हामीले चीनसँग समन्वय गरेका छौं। कति गते उद्धार गर्ने भन्ने अन्तिम निर्णय हुन बाँकी छ। हामी अन्य हिसाबले अन्तिम तयारीमा छौं।’

उता पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई जिम्मा दिएको छ। उनले डिसी नेपालसँग भने, ‘उद्धार गर्ने मिति मन्त्रिपरिषद बैठकले निर्णय गर्दैछ। त्यसपछि हामी हाम्रै निगमको जहाज लिएर वुहानबाट नेपालीको उद्धार गर्छौ।’

यही फेब्रुअरी १ मा हुवेई प्रान्तमा रहेका १८० जना नेपालीले बेइजिङस्थित नेपाली दूतावासमा स्वदेश फर्किन निवेदन दिएका थिए। उनीहरुले निवेदन दिएको हप्ता पुग्दा पनि उनीहरुको उद्धार हुन नसक्नुको मुख्य कारण विश्वस्वास्थ्य संगठनको मापदण्ड हो।

उद्धार गरिएकाहरुलाई कम्तिमा १५ दिनसम्म क्वारिनटाइन राख्नुपर्ने हुन्छ। त्यसका लागि सरकारले विभिन्न ४ स्थान छनौट गरिसकेको छ। यसको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ। सेनाले क्वारिनटाइनको जिम्मेवारी लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *