कोरोनाभाइरसबाट ठूलो विनाश भइसकेको हुनसक्छ, वुहानमा १४ हजार लाश जलाइएको आशंका

डिसी नेपाल
२८ माघ २०७६ १३:४१

काठमाडौं। चीनबाट महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भएको र १ हजार १८ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कूल संक्रमितमध्ये ४० हजार १७१ जना चीनमै भएको तथ्यांकमा उल्लेख छ । चीनमा मात्र अहिलेसम्म ९०८ जनाको मृत्यु भएको बताइएको छ । तर, पछिल्लो समय चीनमा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको र चीनले यो तथ्यांक लुकाउन ठूलो संख्यामा लाश जलाएको आशंका गरिएको ताइवानन्यूजको समाचारमा उल्लेख छ

चीनको वुहान शहरको आकाशमा ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास देखिएको छ । लाश जलाउँदा यो ग्यास निस्किन्छ । ग्यासको ठूलो मात्राका कारण यहाँ ठूलो संख्यामा लाश जलाइएको आशंका गरिएको हो । चीनमा लाश जलाउँदा निस्किने ग्यासको मात्रा यति धेरै देखिनु यसकारण पनि अनौठो छ किनकि चीनमा लाश जलाउने परम्परा छैन । यहाँ मृत्युपछि लाश गाडिन्छ । वुहानका केही स्याटेलाइट तस्वीर सार्वजनिक भएका छन् जसमा वुहानको आकाशमा आगोको गोलाजस्तो केही पदार्थ देखिएको छ । यो गोला सल्फर डाइअक्साइड ग्यास उत्सर्जनका कारण देखिएको विज्ञले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यति ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास त्यतिबेला मात्र उत्सर्जन हुन्छ जब ठूलो मात्रामा लाश वा मेडिकल वेष्ट जलाइन्छ । चीनको सामाजिक संजालमा पनि वुहान शहरको बाहिरी भागमा शवहरु जलाइएको दावी चर्चामा छ । वुहानको आकाशमा सल्फर डाइअक्साइडको मात्रा १७०० युजी प्रति घनमिटर छ जो खतराको स्तर भन्दा २१ गुणा बढी हो । ८० युजी प्रतिघनमिटर खतरनाक मानिन्छ । चोंगक्विङग शहरमा पनि यो ग्यासको मात्रा अधिक छ र यहाँ पनि महामारी ठूलो मात्रामा फैलिएको छ ।

पर्यावरण विशेषज्ञका अनुसार यति ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास १४ हजार शव जलाउँदा उत्सर्जन हुन्छ । अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाउँदा सल्फर डाइअक्साइडका साथै प्यारा डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छ । वुहानमा पछिल्लो सप्ताहान्त सल्फर डाइअक्साइडको मात्रा १३५० माइक्रोग्राम प्रति घनमिटर थियो । जो सामान्य भन्दा धेरै बढी हो । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्य अवस्थामा सल्फर डाइअक्साइडको मात्रा ८० माइक्रोग्राम प्रतिघनमिटर भन्दा धेरै कम हुनुपर्छ ।

केही मिडियाको दावी अनुसार वुहानमा आगामी केही दिनमा करिब ५ लाख नागरिक कोरोनाभाइरको संक्रमणमा पर्न सक्छन् । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरेको छ । यो अध्ययनका अनुसार यदि कोरोनाभाइरसको संक्रमणको गति यही रहेमा फेब्रुअरीको अन्त्यसम्म शहरको ५ प्रतिशत जनसंख्या अर्थात ५ लाखभन्दा धेरै नागरिक कोरोनाभाइरसबाट संक्रमित हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *