एनआरएनएका पदाधिकारीलाई राजनीतिक पार्टीको जिम्मेवारी छोड्न निर्देशन

डिसी नेपाल
२९ माघ २०७६ १३:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पदाधिकारीहरुलाई कुनै पनि राजनीतिक पाटीको भातृसंगठनमा आवद्ध नहुन चेतावनी दिएको छ। संघका नवनिर्वाचित पदाधिकारीहरु राजनीतिक पाटीको भातृ संगठनमा सक्रिय भएको पाएपछि संघले सार्वजनिक सुचना जारी गर्दै दुई साताभित्र पद छोड्न चेतावनी दिएको हो ।

संघले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक पाटीका भातृसंगठनमा पद लिएका पदाधिकारीहरूले तुरुन्त राजीनामा नदिए एनआरएनएबाट निलम्बन गर्ने चेतावनी दिएको हो । महासचिव डा.हेमराज शर्माद्धारा जारी सूचनामा अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको जानकारीमा भन्दै निर्वाचन सम्बन्धी नियमावली अनुसार पदबाट बर्खास्त गरिने चेतावनी समेत दिइएकोछ ।

‘संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७.६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनितिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण गरेको पाइएमा निजलाई पदबाट बर्खास्त गरिने व्यवस्था छ’— संघको सूचनामा उल्लेख छ ।

राजनीतिक पाटीमा आवद्ध पदाधिकारीलाई आफू संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेबुअरी २५ सम्म लिखित जानकारी दिन समेत निर्देशन दिइएको छ । तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा त्यस्ता व्यक्तिलाई पदबाट बर्खास्त गरी कार्वाही अगाडी बढाइने सूचनामा उल्लेख छ ।

डिसी नेपाललाई प्राप्त जानकारी अनुसार गत जनवरी १८ र १९ मा पोखरामा बसेको आईसीसीको प्रत्यक्ष बैठकमा नै संघका अध्यक्ष कुमार पन्तले त्यस्ता पदाधिकारीलाई तुरुन्त राजीनामा दिन आग्रह गरेका थिए । तर, बैठकको निणर्यलाई अटेर गर्दै अझै पनि केहि पदाधिकारीहरू पाटीका भातृ संगठनमा सक्रिय भएपछि संघले सार्वजनिक चेतावनी दिएको हो ।

एनआरएनएले आफूलाई विशुद्ध गैरराजनीतिक संस्था दावी गर्दै आएपनि संस्थाका गतिविधि र पदाधिकारीको राजनीतिका कारण पछिल्लो समय संघ विवादमा पर्दै आएको छ । संघको पछिल्लो चुनावमा समेत उम्मेदवारले राजनीतिक पाटीहरुबाट समर्थन लिएका थिए ।

संस्थामा राजनीतिक हावी हुन थालेपछि राजनीतिक रुपमा सक्रिय व्यक्तिले मात्र अवसर पाउने गरेको भन्दै सदस्यहरुले गुनासो गर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *