कोरोनाभाइरसः अहिले नै प्रकोप अन्त्यको अनुमान गर्नु ‘निकै छिटो’ हुन्छ

डिसी नेपाल
१ फागुन २०७६ ६:५५

बीबीसी । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले “निकै छिटो” हुने बताएको छ। “यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।

यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो।भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसक्यो भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन्।

चिनियाँ अधिकारीहरूले गत साता हरेक दिन थप सङ्क्रमितहरूको सङ्ख्या करिब ४ हजारसम्म पुगेको जनाएका थिए। चीनभन्दा बाहिर भेटिएका ४४१ सङ्क्रमणका घटनामध्ये आठवटा बाहेक सबै सङ्क्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठन सक्षम भएको त्यहाँभित्र स्वास्थ्य सङ्कटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए।

भाइरस पहिलोपटक देखापरेको हुबे प्रान्तबाहिर सङ्क्रमणको गतिमा कमी आएको र नयाँ सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएकोले यो आश्वस्त पार्ने विषय भएको उनले बताए। “चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यो भएको हो,” उनले भने।

तर उनले थपे: “मलाई लाग्छ अहिले नै यो सङ्क्रमणको सुरु र अन्त्य अनुमान गर्नु निकै छिटो हुनेछ।”

अन्तर्राष्ट्रिय ऐक्यवद्धता

विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन्।”मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ,” उनले भनिन्। “यसका लागि केही समय लाग्छ। रातारात खोप बनाउन सकिँदैन।”

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोसले एउटा अमेरिकी क्रुज वेस्टरड्यामलाई आउन अनुमति दिएकोमा क्याम्बोडियाको प्रशंसा गरेका छन्।

यसअघि उक्त क्रुजमा कोही बिरामी नभए पनि जापान, थाइल्याण्ड र ताइवानले आउन नदिएपछि बन्दरगाहबाटै फर्काइएको थियो। यो “हामीले निरन्तर रूपमा भनिरहेको अन्तर्राष्ट्रिय ऐक्यवद्धताको उदाहरण हो” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *