कोरोनाभाइरस संक्रमित भएर तीन हप्ताको संघर्षपछि स्वस्थ भएका युवाको भयावह अनुभव

डिसी नेपाल
५ फागुन २०७६ १२:४१

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरले अहिलेसम्म १७०० भन्दा धेरै ज्यान लिइसकेको छ । ७० हजार भन्दा धेरै संक्रमित भएका छन् । यसको प्रभाव बढिरहेका बेला यसको संक्रमणबाट मुक्त भएका २१ वर्षका एक विद्यार्थी टाइगर येले आफ्नो भयावह अनुभव सुनाएका छन् । उनले आफ्नो पीडा साझा गर्दै कोरोनाभाइरस संक्रमित भएपछि आफ्नो जीवन नरकजस्तै लागेको बताएका छन् ।

ब्लुमबर्गसँग कुरा गर्दै टाइगरले बताएअनुसार उनको लागि भाइरसको सं्रक्रमण भएदेखि उपचार पूरा हुँदासम्मको समय कुनै भयानक सपनाभन्दा कम थिएन । २१ जनवरीमा जब टाइगरलाई अचानक सन्चो भएन त्यसपछि उनले सबैभन्दा पहिले आफ्नो शरीरको तापक्रमको जाँच गरे । उनलाई तेज ज्वरो आएको थियो । स्वास्थ्य बिग्रिएपछि उनी अबेर राती वुहानको एक प्रतिष्ठित टंगी हस्पिटल पुगे जहाँ पहिल्यै वेटिङ रुममा ठूलो संख्यामा बिरामीहरु पर्खिरहेका थिए । उनले बुझे उनले पनि त्यहाँ घण्टौं प्रतिक्षा गर्नुपर्नेछ ।

अस्पतालका डाक्टरले पहिले टाइगरलाई कोरोनाभाइरसको लक्षण नदेखिएको भनेर घर फर्काइदिए । त्यसपछि टाइगरले नजिकैको एक अस्पतालबाट औषधी लिएर फर्किए । कैयौं दिनको बेचैनी र डिप्रेसन झेलेपछि टाइगरले आफ्नो शरीरको जाँच गराउनुमै भलाई सम्झे । टाइगर निकै भाग्यमानी व्यक्ति थिए किनकि उनका पिता एक स्वास्थ्य कार्यकर्ता थिए र उनले वुहानमा फैलिएको यो भाइरसप्रति मानिसहरुलाई जागरुक गराउने काम गरिरहेका थिए ।

टाइगरका अनुसार ४ दिनमै उनको हालत निकै गम्भीर भइसकेको थियो । ज्वरोसँगै उनको शरीरमा पीडा बढ्दै गइरहेको थियो । खोकी लाग्नासाथ उनलाई लाग्थ्यो कि मानौं उनको प्राण निस्किनेवाला छ । डाक्टरको सल्लाहअनुसार जब टाइगर दोस्रो पटक अस्पताल पुगे त्यसपछि गरिएको सिटी स्क्यानबाट डाक्टरले थाहा पाए कि भाइरस उनको फोक्सोसम्म पुगिसकेको छ । भाइरसको स्पष्ट जाँचको लागि अझै टाइगरले न्यूक्लिक एसिड टेस्ट पार गर्नुपर्ने थियो ।

न्यूक्लिक एसिड परीक्षणपछि मात्र शरीरमा कोरोनाभाइरसको संक्रमणको पुष्टि हुन्छ । तर यो परीक्षण किट धेरै महंगो हुने भएकोले डाक्टरहरुले टाइगरको केसलाई गम्भीरताका साथ नलिइ उनलाई फर्काइदिए । टाइगर जब घर फर्के त्यहाँ उनले देखे उनकी हजुरआमा र भाइमा पनि लगभग उस्तै लक्षण देखिएका थिए । टाइगरले भने ‘मैले मृत्यु निकै नजिक देख्न थालिसकेको थिएँ । मलाई लागिरहेको थियो मानौं म नर्कको ढोका ढक्ढक्याउँदैछु ।’

उनले अगाडि भने ‘म फेरि अस्पताल पुगें र ज्वरोको जाँच गराएँ । मेरो ज्वरो १०२ डिग्रीभन्दा माथि थियो ।’ त्यसपछि डाक्टरहरुले उनलाई आइभी ट्रिटमेन्ट दिए र कलेट्रा नामको एउटा कम्बिनेशन औषधी पनि दिए जो एचआइभी पीडित बिरामीहरुलाई दिइन्छ । दिन ढल्दासम्म उनको ज्वरो घट्न थाल्यो । सही उपचार भएका कारण टाइगरको स्थितिमा छिटै सुधार आउन थाल्यो ।

डाक्टरहरुले उनलाई ५ दिनसम्म एन्टिभाइरल औषधी एलुवायामा राखे त्यसपछि उनलाई घर पठाए किनकि अस्पतालमा बेड खाली थिएनन् । ९ दिनपछि ७ फेब्रुअरीमा उनको एक न्यूलिक एसिड टेस्ट गराइयो जसमा उनको रिपोर्ट नेगेटिभ आयो । अर्थात टाइगरलाई अब भाइरसबाट खतरा थिएन । स्थानीय अधिकारीहरुले उनलाई एक होटलमा राखे र एक सुरक्षागार्ड तैनाथ गरे ताकि पूर्ण रुपमा ठिक हुँदासम्म उनी कसैसँग भेट्न नसकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *