मैले एक अमेरिकीको ८० बर्ष पुरानो हीराको औंठी फिर्ता गरेपछि

डिसी नेपाल
६ फागुन २०७६ १९:४५

भर्जिनिया । अमेरिकामा आफ्नो व्यबसाय गरेर बसेको केही बर्ष वितिसकेको छ । भर्जिनियास्थित विनचेस्टरमा रहेको मेरो भ्याकुम क्लिनिंग बिक्री तथा मर्मत गर्ने पसलमा यसपालि एउटा अनौठो र रोमाञ्चक संयोग आइलाग्यो । परिस्थितिले कतै कतैबाट मेरो इमान्दारिताको परीक्षा लिएकोजस्तो पनि महसुस भएको थियो अनि मेरो भावना, सेाच, दृष्टिकोण, र इमान्दारीता, जे थियो,छ साथै दृढ़ताका साथ रहन ठुलो प्रेरणा मिलेको छ मलाई ।

केही दिनअघि एउटा मसिन मर्मतका लागि मेरो स्टोरमा आइपुगेको थियो । हाम्रो प्रक्रियाअनुसार, मर्मत सकेपछि खबर गर्ने गरी उनको नाम र सम्पर्क नम्बरसमेत राखेर उनलाई अर्डर स्लिपको कपी दिएर पठाइएको थियो । मसिन मर्मत गर्ने क्रममा त्यसलाई खोलखाल गरिंदै थियो एउटा आकर्षक औठी त्यसबाट फुत्त झ¥यो । सामान्यतया यस्ता बहुमूल्य सामानहरु भ्याकुम क्लिनिंग मसिनभित्र हुने अनुमान पनि गरिंदैन किनकि बहुमूल्य सामान मानिसले निकै जतनसाथ आफ्नो सेफमै राख्दछन् ।

तर, यो घटना भने अनौठो नै भयो । ग्राहकहरुसंग उनीहरुका व्यक्तिगत कुराहरु सोधिदैन पनि किनकि व्यक्तिगत गोपनीयता अमेरिकामा प्राथमिकताको कुरा हो । कसैले आफै आफ्ना कुरा शेयर गर्न खोज्यो भने त्यो बेग्लै कुरा हो । त्यो बहुमूल्य हिरा नै हो भन्ने कुरा हामीले बुझिसकेको थियौं,

मसिनकी धनी पाम बेल नामकी अमेरिकी नागरिक जव मर्मत भइसकेको सामान लिन आइन्, हामीले उनलाई सो मसिनभित्र एउटा औठी फेला परेको कुरा सुनायौं । उनी त्यसै छक्क परकै थिइन् उनको हातमा परेको बर्षौं पुरानो औंठी फेला परेकोमा ज्यादै खुसी हुदै “यो मेरो बहुमूल्य मात्र होईन यो मेरो लागी अनमोल हो”उनले सुनाएको कुराअनुसार, सो हीराको औंठी उनका बुवा जोन पी बेल जुनियरले आफ्नी पत्नीलाई झण्डै ८० बर्षअघि किनिदिएका थिए ।

तर, सो औठी हराएको पनि धेरै भइसकेको थियो । जब हामीले सो औंठी उनको हातमा राखिदियौं उनको हर्षको सीमा रहेन । उनी त्यति खुसी हुंदा हामी खुसी नहुने कुरै भएन किनकि ग्राहकको खुसी र सन्तुष्टि नै हाम्रो व्यबसायको मुख्य विषय हो । हामीले मर्मत गरिदिएर काम लाग्ने बनाइदिएको एउटा भ्याकुम ल्किनर मसिनले काम गर्न थालेकोमा प्राप्त हुने सन्तुष्टिमाथि यो बषौंदेखिको महत्वपूर्ण बस्तु फेला परेको संयोग पनि थियो । उनी खुसी भइन र उनका दिवंगत भइसकेका माता पिताको प्रेमको चिनो फेला परेको कुराले उनको पूरै परिवार अत्यन्त खुसी भएको कुरा हामीले थाहा पायौं ।

उनीहरुको खुसीसंगै मैंले मेरो परिवेश सम्झिएं । यसै पनि नेपालको ग्रामीण परिवेशबाट हुर्केर, परिवार, समाज, गुरुहरूबाट मैंले जे प्रेरणा पाएको थिएँ त्यसैलाई ब्यबहारमा उतार्न सफल भएको महशुस भयो मलाई । बास्तवमै निकै सन्तुष्ट भए म । अनि “बिज़नेस मेरो लक्ष्य, ग्राहक खुसी नै मेरो सन्तुष्टि “लाई आधार मानेर अघि बढ्ने क्रममा ग्राहक (पाम वेल)को खुसी नै हाम्रो सफलता हो । यसबीचमा स्थानीय चर्चित अंग्रेजी अखबारमा पनि यो प्रसंगलाई जोडेर नेपालबाट आएको एउटा मान्छेले देखाएको इमान्दारिताको प्रसंशा गरिएको थियो ।

उनको अदम्य ख़ुशी अनि यस भेगमा रहेका नागरिकहरूका समाचारमा कमेंट्स, साथै हामीलाई प्राप्त मेसेजहरूबाट पनि हाम्रो इमान्दारितको कदरका साथ धेरै नयाँ ग्राहक हाम्रो भ्याकुम स्टोरप्रति सारै आकर्षित भएको पाउंदा गर्वका साथै सन्तुष्टि पनि मिलेको छ । ग्राहकको बिश्वास नै मेरो सन्तुष्टि हो, त्यो सन्तुष्टि म नेपाली भएर यहां अमेरिकीहरु बीचबाट पाएको छु ।

यसबाट मेरो बिज़नेसमा पक्कै थप टेवा दिनेछ भन्ने बिस्वास लिएको छु । म जहिले पनि इमान्दार, अनि ग्राहकको बिश्वास र सन्तुष्टिलाई नै आधार बनाएर निरन्तररुपमा काम गरिरहने मेरो प्रतिबद्धतामा यो अप्रत्यासित एउटा घटनाले थप उर्जा दिएको छ । यसमा मलाई बधाइ तथा धन्यबाद दिनु हुने अमेरिकी नागरिक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू तथा सम्बन्धित सबैमा हार्दिक आभार तथा धन्यबाद दिन चाहान्छु । यहांहरुको यो हौसला भविष्यसम्मका लागि मेरो प्रेरणाको स्रोत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *