‘बी’ डिभिजन लिगः खुमलटार विजयी

डिसी नेपाल
१६ फागुन २०७६ २२:४८

काठमाडौं । ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको खुमलटारले रानीपोखरी कर्नर टिमलाई ३–० गोलले पराजित गरेको हो ।

जारी ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो खेलमा विजयी भएको हो । खुमलटारका लागि सबिन केसीले दुई तथा महेश थापाले एक गोल गरे । थापाले खेलको २५औँ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । खेलको ३६औँ मिनेटमा आरसिटीका कप्तान अमर डङ्गोल रातो कार्ड पाए । उनी मैदानबाट बाहिरिएपछि आरसिटी १० खेलाडीमा सीमित भयो । खेलको ६०औँ मिनेटमा सबिनले नै व्यक्तिगत दोस्रो गोल गरे ।

आगामी चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्षटोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब र बाँसबारी सहभागी छन् । ‘बी’ डिभिजन लिग विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *