विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘कोरोना सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक देशसँग छुट्टै तरिका हुनुपर्छ’

डिसी नेपाल
२० फागुन २०७६ ८:२९

बीबीसी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी” अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय” भएको तर उपयुक्त उपाय अवलम्बन गरेर त्यसलाई नियन्त्रण गर्न सकिने बताए।

विश्वभरि कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ। सङ्क्रमण र मृत्यु हुने अधिकांश मानिस चीनका हुन्। तर केही सातायता चीनबाहेक अन्यत्र कोरोनाभाइरस सङ्क्रमण नौगुना भएको छ।

कसरी नियन्त्रण गर्न सकिन्छ ?

डा. गेहब्रेयससले जोड दिँदै उक्त भाइरसलाई परास्त गर्न सकिने बताए। रोग आफैँभन्दा पनि बिरामीलाई लाग्ने लाञ्छना र उनीहरूसँग गरिने व्यवहार धेरै डरलाग्दो भएको उनको टिप्पणी थियो।

उनले कोभिड-१९ को विश्वव्यापी विकास “एकतर्फी बाटो” बाट नभएको र यदि देशहरूले चाँडो र प्रभावकारी रूपमा नियन्त्रणका उपाय अवलम्बन गर्न सके त्यसलाई परास्त गर्न सकिने बताए। “अहिले काम गर्नुबाहेक अन्य कुनै विकल्प छैन,” उनले भने। चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देशमध्ये इटलीमा सोमवार मृतकको सङ्ख्या ३४ बाट बढेर ५२ पुगेको छ।

डब्ल्यूएचओले के भन्यो ?

कोभिड-१९ सँग सङ्घर्ष गर्न सबैलाई काम लाग्ने एउटै उपाय नभएको भन्दै डा. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्थाबारे विचार गर्न सुझाव दिएका छन्। “प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ,” उनले भने।

अहिलेसम्म ६२ देशले सङ्क्रमण भएको जानकारी दिएका र तीमध्ये ३८ देशमा १० भन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको उनले बताए। “झन्डै आठवटा देशले दुई सातादेखि नयाँ सङ्क्रमण भएको जानकारी दिएका छैनन् र रोकथाम गर्न सफल भएका छन्,” उनले भने।

धेरै सङ्क्रमण भएको भए पनि चीनले पनि रोकथाम सम्भव छ भन्ने देखाएको उनले बताए।कोरोना भाइरसलाई विश्वव्यापी महामारी भन्ने वा नभन्ने बारे डब्ल्यूएचओले निरन्तर निगरानी गरिरहेको उनले बताए। दक्षिण कोरिया, इटली, इरान र जापानमा फैलिएको सङ्क्रमण अहिले मुख्य चिन्ताको विषय बनेको छ।

इरानमा डब्ल्यूएचओका एक कर्मचारीमा पनि सामान्य लक्षणसहित कोरोनाभाइरस सङ्क्रमण देखिएको उनले बताए। उनले भने, “इमानदारीपूर्वक भन्दा बिरामीलाई लाग्ने लाञ्छना भाइरसभन्दा खतरनाक छ। त्यसलाई वास्तवमै ध्यान दिऔँ। लाञ्छना सबैभन्दा खतरनाक शत्रु हो।”

विश्वको अवस्था कस्तो छ ?

अहिलेसम्म चीनसहित विश्वभरि झन्डै ७० देशमा ९०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। झन्डै ९० प्रतिशत सङ्क्रमण चीनमा पाइएको छ।चीनको पनि हुबे प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ। कोरोनाभाइरस त्यहीँबाट फैलिएको थियो। चीनबाहिर कुल ८,८०० जनामा सङ्क्रमण पाइएको छ। तीमध्ये इरान, दक्षिण कोरिया, इटली र जापानमा ८१ प्रतिशत व्यक्ति सङ्क्रमित छन्।

इटलीको उत्तरी क्षेत्रमा सबैभन्दा धेरै भाइरस सङ्क्रमण देखिएको छ। त्यहाँ सोमवारसम्म १,८३५ जनामा सङ्क्रमण पाइएको छ। इरानमा त्यहाँका सर्वोच्च नेताका एक सल्लाहकारसहित ६६ को मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकाको वाशिङ्टन राज्यमा सोमवार थप चार जनाको मृत्यु भएको छ। अहिलेसम्म अमेरिकामा छ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *