नेपालको एसिया कप छनोट खेल्ने सम्भावना समाप्त

डिसी नेपाल
२१ फागुन २०७६ १६:२३

काठमाडौं । नेपालले एसीसी एसिया कप छनोट खेल्ने सम्भावना समाप्त भएको छ । बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई हराएसँगै नेपालको शिर्ष दुईमा रहने संभावना समाप्त भएको हो। एसीसी टी २० ईस्टर्न रिजनबाट एक खेल अगावै नेपाल बाहिरिएको छ ।

बुधबार भएको खेलमा यदि हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनौट खेल्ने झिनो आशा थियो । तर सिंगापुरले हङकङलाइ १६ रनले पराजित गरेपछि नेपालको त्यो झिनो आशापनि समाप्त भएको छ ।

नेपालका लागि हङकङले सिंगापुरलाई हराउनुपर्ने र अन्तिम खेलमा नेपालले सिंगापुरलाई हराएर हङकङले मलेसियालाई हराउनुपर्ने थियो । जसमा नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनु पर्ने अवस्था हुनसक्थ्यो । तर सिंगापुर विजयी भएपछि नेपालको सबै सम्भावनाको ढोकाहरु बन्द भएको छ ।

नेपालले पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार ब्यहोरेको थियो । तेस्रो खेलमा आएर आयोजक टिम थाइल्याण्डलाई नौ विकेटले हराएर २ अंक जोडेको नेपालको लागी एसिया कप छनौटको सम्भावना चार घण्टा पनि नटिक्दै तुहिएको छ ।

बुधबार भएको खेलमा सिंगापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतीमा एक सय ६८ रन बनायो । उसका लागि टिम डेभिडले ५८ रन बनाए भने सुरेन्द्रम चन्द्रमोहनले ३२ तथा सिद्धान्त सिंहले १७ रन बनाए । यस्तै मनप्रित सिंहले ४२ रनको योगदान गरे ।

जवाफमा हङकङ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ५२ रनमा रोकियो । अब नेपालले आफ्नो अम्तिम खेल शुक्रबार सिंगापुरसंग खेल्नेछ ।




प्रतिक्रिया