आईपीएलको पुरस्कार राशीमा ठुलो कटौती हुने!

डिसी नेपाल
२१ फागुन २०७६ १६:३९

एजेन्सी । १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पुरस्कार राशीमा ठुलो कटौती हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउने संस्करणको पुरस्कार राशीमा ५० प्रतिशत कटौती गर्न लागेको भारतीय मिडियाहरुले जनाएका छन् । रिपोर्ट अनुसार बीसीसीआईले पुरस्कार रकम कटौतीबारे फ्रेन्चाइज टिमलाई समेत खबर गरिसकेको जनाइएको छ।

आईपीएलको पुरस्कार राशीमा कटौती भए उपाधि विजेता टिमले १० करोड भारतीय रुपैया प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको विजेताले २० करोड प्राप्त गरेको थियो । यस्तै उपविजेता हुने टिमले समेत ६ करोड २५ लाख प्राप्त गर्नेछन् । गत संस्करणको उपविजेताले १२ करोड ५० लाख प्राप्त गरेको थियो ।

पुरस्कार राशी कटौतीले धेरै टिमहरु निरास बनेका समेत बताईएको छ । फ्रेन्चाइज टिमहरुले स्पोन्सरहरुबाट राम्रो कमाइ गरेको भन्दै बीसीसीआईले उपाधि राशीमा कटौती गर्न लागेको जनाएको छ । यस्तै आईपीएल आयोजना गर्ने हरेक प्रदेश क्रिकेट संघ र हरेक फ्रेन्चाइज टिमले ५० लाख सहयोग मात्र बीसीसीआईबाट पाउने छन् ।

बीसीसीआईका पदाधिकारीहरुले एसिया राष्ट्र जसमा हवाई उडान ८ घण्टा भन्दा कम लाग्नेको भ्रमण गर्दा बिजनेस क्लासको फ्लाइट टिकट समेत नपाउने जनाएको छ । सन् २०२० को आईपीएल मार्च २९ देखि सुरु हुँदैछ ।




प्रतिक्रिया