कोरोना नआउँदै आइपुगे कालोबजारी!

डिसी नेपाल
२१ फागुन २०७६ २०:२४

काठमाडौं। हरेक औषधि पसलमा पुग्नुहोस र मास्क माग्नुहोस–कसैले दिँदैन। छैन भन्छ। तर शहरमा पछिल्ला दिनहरुमा मास्क लगाएका मानिसहरु बाक्लिन थालेका छन्।

चीनको वुहानमा कोरोना भाइरस उत्पत्ति भएको केही दिनमै नेपालले चीनलाई एक लाख मास्क सहयोग गर्यो भने नेपालमा मास्क निकासीमा रोक लगायो।
तर, व्यापारीले भने बजारमा कृतिम अभावनै सिर्जना गरेर मास्कको मूल्य बढाइदिएका छन्। कोरोना आतंक शुरु हुनुभन्दा पहिला ५ रुपैयाँ पाइने मास्कको बजार मूल्य हाल ५० रुपैयाँ पुगेको छ।

तर, ५० रुपैयाँमा पनि मेडिकल मास्क पाउन छाडेको छ। औषधि व्यवस्था विभागमा बुधबार औषधि उत्पादक, वाणिज्य विभागका अधिकारी र परराष्ट्रका अधिकारीको आकस्मिक बैठक बस्यो। बैठकमा बजारमा देखिएको मास्क भावका विषयमा पनि छलफल भएको विभागका सूचना अधिकृत सन्तोष केसीले जानकारी दिए। उनले डिसी नेपालसँग भनेका छन्, ‘व्यवसायीले मास्कको कृतिम अभाव सिर्जना गरेका छन्। वाणिज्य विभागले अनुगमन गर्छ। केही व्यापारीमाथि कारबाही शुरु पनि भएको छ।’

यसरी बजारमा कालोबजारी विगविगी हुँदा सरोकारवाला निकाय भने अनुगमन गरिने कर्मकाण्डी प्रक्रियामै चित्त बझाउने तयार देखिन्छ। अब भारतले २६ प्रकारका औषधिको कच्चा पद्धार्थ निर्यातमा रोक लगाएपछि बजारमा त्यसको पनि अभाव देखिने सम्भावना बढेको छ।

समाजिक सञ्जालहरुमा त बजारमा औषधि पाइन छोडेकोसमेत चर्चा शुरु भएको छ। तर, औषधि विभागका सूचना अधिकृत केसीले भने ३ महिनासम्म पुग्ने औषधि मौजाद रहेको बताए। र परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कुटनीति पहल हुने पनि उनले बताए। साथै चीनका उत्पादकहरुले पनि औषधि नेपाल पठाउन सकिने बताएको उनले डिसी नेपाललाई जानकारी दिए।

बजारमा कालोबजारी मौलाउँदा पनि एक खुशी खबर भने छ। त्यो हो उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस दक्षिण छिमेकी भारतमासम्म पुग्दा बीचमा रहेको नेपालमा हालसम्म देखिएको छैन। जुन दिन देखिने छ त्यो भयानक हुने यहाँको तयारीले देखिएको छ। बजारमा कोरोना आइनपुग्दै शुरु भएको कालोबजारी कोरोना आयो भने के होला?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *