अमेरिकावासी नेपालीले डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावबारे जान्नैपर्ने कुराहरु

डिसी नेपाल
२२ फागुन २०७६ ४:३०

मेरिल्याण्ड, अमेरिका । अमेरिकामा अहिले डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सन भैरहेको छ । अर्ध—लोकतान्त्रिक देशबाट आएका हुनाले हामी नेपालीहरुको लागि यो प्राइमरी इलेक्सन भन्ने कुरा अनौठो लाग्न सक्छ । प्राइमरी इलेक्सनको उद्देश्य भनेको यही सन् २०२० मा हुन गइरहेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्ने हो । नेपालमा उम्मेदवारको छनौट पार्टीका शीर्षस्थ नेताहरुले गर्ने हुंदा टिकट फुत्काउनलाई जनताको मन जित्नुपर्दैन, बरु शीर्षनेताहरुलाई रिझाउनु पर्ने हुन्छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीबाट को उम्मेदवार हुने अर्थात् जनताको मन जित्न कसले सक्ला भन्ने कुराको यो प्राइमरी निर्वाचनमार्फत अहिले परीक्षण भैरहेको छ । हिजोको दिन(मार्च ३) मा १४ वटा राज्यमा एकैपटक प्राइमरी इलेक्सन भएकोले यसलाई सुपर ट्युस्डे भनिएको हो।

उत्तम गौली

डेमोक्रेटिक पार्टीबाट दुई दर्जन बढ़ी उम्मेदवारहरु फिल्डमा आएका भए पनि यो चरणसम्म आइपुग्दा सामान्यरुपमा तीनवटा धार देखिएका छन् । माइकल ब्लुमबर्गले दक्षिणपन्थी, बर्नी स्याण्डर्सले समाजवादी बामपन्थी, र जो बाइडेन ले मध्यपन्थी धार पकडेका छन् ।

यी तीन धारमध्ये मार्च तीनको चुनावको परिणामपछि व्युमबर्गले आफूले यो दौड त्याग गरेको सार्वजानिक घोषणा गर्दै मध्यपन्थी धारका पूर्वउपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताइसकेका छन् । यो घोषणासंगै दक्षिणपन्थी समूह र मध्यपन्थी समूहका बीचमा पार्टीभित्र बलियो गठबन्धन तयार भएको छ ।

माइकल ब्लुमबर्ग न्यूयार्कका पूर्वमेयर हुन् र यी अरबपति व्यापारी पनि हुन् । यिनले राष्ट्रीपति ट्रम्पलाई हराउन सक्छन् कि भन्ने धेरैलाई विश्वास थियो । यो विश्वासको मुख्य कारण के हो भने हीरा काट्ने हीरैले भनेजस्तो एउटा अरबपतिलाई अर्को अरबपतिले चुनौति दिन सक्ला भन्ने नै हो ।

रोचक पक्ष के छ भने ब्लुमवर्गले हालका राष्ट्रपतिलाई बाबुको सम्पत्तिमा व्यपारी भएको तर कम्पनीहरु डुवाएर मुलुकको राजस्वसंग वेइमानी गरेर टिकेको आरोप लगाउंदै आफूलाई सेल्फ—मेड बिलिअनेयर अर्थात् सामान्य परिवारमा जन्मेर पनि धन आर्जन गर्न सक्षम भएको र जनताको मन पनि जितेर न्यूयोर्क शहरको मेयर भएको हुनाले ट्रम्पलाई म चुनौति दिनसक्छु भन्ने दावी गर्दै आएका थिए तर उनको यो दावी पूरा गर्न उनले जो वाइडेनलाई दिने साथ कत्तिको ओजनदार बन्छ भन्ने कुरा भविष्यले मात्र बताउन सक्छ ।

बर्नी स्याण्डर्स अमेरिकामा निष्ठाको राजनीति गर्ने पुराना र स्वतन्त्र राजनीतिज्ञ हुन् । अमेरिकाको पूंजीवादको विरोध गर्ने र समाजवादको वकालत गर्ने उनको विचार अमेरिकी युवाहरुबीच अत्यन्तै लोकप्रिय बनेको छ । उनले स्काण्डिनेभियन मुलुकहरुमा जस्तो कर बढाएर जनताहरुलाई शिक्षा, स्वास्थ्यजस्ता सुविधा निशुल्क उपलब्ध गराउनुपर्नेमा जोड़ दिएका छन् ।

रमाइलो कुरा के छ भने विगत केही दशकमा स्काण्डिनेभियन मुलुकहरुमा चाहिं आर्थिक बृद्धि नरोकियोस भनेर अमेरिकाकोजस्तो पूंजिपतिहरुलाई प्रश्रय दिने अनि अमेरिकाले चाहिं स्याण्डर्सले भनेजस्तो पूंजिपतिहरुलाई कर बढाउंदै गैरहेका थिए । अहिलेको अवस्थामा पूंजिपतिहरुमाथि करको दर पहिल्यै स्काण्डिनेभियन मुलुकहरुभन्दा धेरै छ । त्यसकारण अमेरिकन युवाहरुले “फील द बर्न” (समाजवादको न्यानो महसुस गरौं!) भनेर उत्साहित हुंदै गरिदा स्याण्डर्सको गणितले कति काम गर्ने हो त्यसलाई केही समय पर्खनु पर्ने हुन्छ ।

अर्को एउटा डर के पनि छ भने बर्नीलाई कम्युनिस्ट भनेर अधिकांश अमेरिकनहरुले भोट नदिने हुन् कि भन्ने अशंका सो पार्टीका धेरै समर्थकहरुमा रहेको पाइन्छ । कम्युनिस्ट भनेको कतिपय नेपालीको मनमा अति प्रिय शव्द हुनसक्छ तर अमेरिकामा यो शव्द गाली बराबर हो । त्यसकारण बर्नीले आफू बामपन्थी भए पनि आफूलाई सोशलिस्ट (अर्थात् समाजवादी) हुं भन्ने गरेका छन् । तर यसरी नै सोशलिस्ट हुं भन्दै १९७२ मा डेमोक्रेटिक पार्टीको उम्मेदवारी जितेका जोर्ज मक्गभर्नले राष्ट्रपतिको चुनाब हारेका थिए । कम्युनिस्टको आरोप अमेरिकामा खतरै हुनसक्ने भएकोले पार्टी संस्थापन पक्षले स्यान्डर्सभन्दा बाइडेनमाथि बढी भरोसा राखेको देखिन्छ ।

जो बाइडेनले राष्ट्रपति ओबामाको पालामा उपराष्ट्रपति भएर ओबामालाई जसरी अकंटक साथ दिए, त्यसले गर्दा नै उनले यहांका अश्वेतहरुको मन जिते । अफ्रिकन अमेरिकन मान्छेहरुको भोट राष्ट्रपतिको चुनाव जित्न अपरिहार्य छ । ट्रम्पले पनि अनेक उपाय गर्दै अफ्रिकन अमेरिकनहरुको मन जित्ने प्रयास गरिरहेका छन् तर उनले बिगतमा भेदभाव गरेको आरोप लगाउने अश्वेतहरु पनि कम छैनन् ।

ओबामालाई मुसलमान भनेर र विदेशी भनेर हेपेको पनि बिर्सिएका छैनन् । बाइडेन पनि लामो समय निष्ठाको राजनीति गर्दै आएका पुराना अनुभवी स्टेटम्यान हुन् । उनको दाबी के छ भने राष्ट्रपति भएर मात्रै पुग्दैन भोलि नीतिगतरुपमा अमेरिका राम्रो बनाउन सिनेट पनि जितेनुपर्छ । उनले दुबै पार्टीका मान्छेसंग मिलेर काम गर्नसक्ने आफ्नो अनुभवलाई मुख्य क्षमताको रुपमा अघि सारेका छन्, जुन अहिले उच्चतहको अमेरिकी राजनीतिमा देखिएको प्रमुख समस्या हो ।

(लेखक गौली, मेरिल्याण्डस्थित मोर्गन स्टेट युनिभर्सिटीमा प्राध्यापन गर्छन् ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *