चीनमा ह्वात्तै घट्यो कोरोनाको संक्रमण, चीनबाहिर २४ घण्टामा ५२ जनाको मृत्यु

डिसी नेपाल
२२ फागुन २०७६ ७:३०

काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनमा पछिल्लो २४ घण्टामा जम्मा १२ जना नयाँ संक्रमित फेला परेका छन् ।

चीन बाहिर ८४ देशमा कोरोनाको संक्रमण बढीरहेका बेला चीनमा भने कोरोनाको संक्रमण ह्वात्तै घटेको हो । कोरोना भाइरसको संक्रमणका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ सङ्क्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा चीनमा कसैको पनि ज्यान गएको छैन ।

बिहीबार बिहानसम्म चीनसहितका देशमा ३ हजार २ सय ५४ जनाको ज्यान गइसकेको छ भने ५१ हजार ४ सय ४९ जना उपचारपछि घर फर्किएका छन् । हालसम्म कोरोनाबाट ९५ हजार एक सय ८० जना संक्रमित भएका छन् ।

जसमध्ये चीनमा सबैभन्दा बढी ३ हजार ४३ जनाको ज्यान गएको छ भने ८० हजार ५ सय बढी संक्रमित छन् । उनीहरुको निरन्तर उपचार जारी छ ।

यस्तै कोरोनाको सङ्क्रमण बढेसँगै इटलीले आजदेखि १० दिनसम्मका लागि सबै स्कुल क्याम्पस बन्द गरेको बीबीसीले जनाएको छ ।

समाचारका अनुसार, कोरोना भाइरसबाट १०७ जनाको ज्यान गइसकेको इटलीमा आजबाट सिरी ए फुटबलसहित व्यवसायिक फुटबल खेल कार्यक्रम बन्द गरिएको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनसँगै हङकङ, जापान, इराक र संयुक्त अरब इमिरेट्स यूएईले यसअघि नै स्कुल बन्द गर्ने निर्णय गरिसकेका छन्।

यस्तै फ्रान्सले पनि एक सय २० भन्दा धेरै स्कुल बन्द गरेको छ।

सुरुमा रुघाखोकी र उच्च ज्वरो आउनु, शरीरका मासु दुख्न थाल्नु अनि बिस्तारै सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन्।

कोरोना भाइरसबाट बच्न मास्क भन्दा पंजा महत्वपूर्ण

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ। तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ।

कारोनाबाट बँच्न जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका यस्ता सुझाब

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन, दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यसको संक्रमण हुन सक्छ।

-कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।

-कोरोना संक्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन। ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने। गाह्रो भएमात्र अस्पताल जाने।

-कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।

– कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ , प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।

– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।

– विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन।

– बजारमा मास्कको अभाव छ | कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन। तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्क भन्दा पंजा महत्वपूर्ण छ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन। विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन्।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी सुरु भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।

– कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।

– यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *