कोरोना कहर : घोषित सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित

डिसी नेपाल
२२ फागुन २०७६ ७:३३

काठमाडौं। संसारभर कोरोना भाइरसले आतंक मच्याएपछि सरकारले सबै घोषित सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको थियो।

यसैगरी कोरोना भाइरसको उच्च खोजिमसँगै कूटनीतिक नियोगहरूले पनि पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन्। सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।

अमेरिकी दूतावासले २४४औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका थिए।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारिक कार्यक्रम रद्ध गरेको छ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन (र्यालीसहितको साझा अभियान कार्यक्रम) र ११०औं अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना प्रभावित मुलुकमा नेपाली कामदार पठाउन रोक्ने निर्णय गरेको छ। यसैगरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत पाँच गतेसम्म गरिसक्न आग्रह पनि गरेको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालयहरुले होलीका अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छन्। होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको छ।

यसैगरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राख्दै पार्टी एवं पार्टी आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम स्थगित गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अर्को सूचना जारी नभएसम्म पार्टीका सबै कार्यक्रम स्थगित भएको बताए। बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले कोरोना संक्रमणबारे सहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घर घरसम्म’ सतर्कता र चेताना अभियान चलाउने बताए।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै सरकारले कोरोना भाइरस विरुद्ध उच्च सतर्कता अपनाउन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *