मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

डिसी नेपाल
२२ फागुन २०७६ ८:५९

बीबीसी। कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्। देशको उत्तरी क्षेत्रमा ३,००० भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ।

विश्वभरिमा झन्डै ३,२०० जनाको मृत्यु भइसकेको छ भने ९०,००० बढी मानिस सङ्क्रमित भएका छन्। बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनमा छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन। तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन्।

येन्स स्पानले भने, “अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको छ…। के चाहिँ स्पष्ट हो भने अझै हामी महामारीको चरमोत्कर्षमा पुगेका छैनौँ।”

अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ। चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएका देश हुन्।

शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताइन्। “मेरो प्रतिबद्धता भनेको हाम्रा सबै विद्यार्थीलाई आवश्यक सार्वजनिक सेवाको सुनिश्चितता गर्नु हो,” उनले भनिन्।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन्। स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन्।

कतिपय खेल प्रतियोगिताहरू पहिले नै स्थगित भएका छन्। इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या २८ बाट १०७ पुगेको जनाएको थियो।

मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ। यसअघि मिलाननजिकैका ११ वटा नगरमा झन्डै ५०,००० मानिसलाई क्वारन्टीनमा राखिएको भए पनि सङ्क्रमण फैलिन रोकिएन।

सामाचारसस्था रोएटर्सका अनुसार इटली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ।

सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारण मानिसलाई यथासम्भव अङ्कमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ।

चीन र हङ्‌कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन् वा गर्न लागेका छन्। त्यसबाट विद्यालय उमेरका लाखौँ बालबालिका प्रभावित हुनेछन्।

फ्रान्सले कोरोनाभाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ। उत्तरी प्यारिसका प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द गरिएका हुन्। त्यहाँ कोरोनाभाइरसका कारण दुई जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *