अर्कैको गाडी लिएर घुम्न निस्किए पुलिस, मालिकले जीपीएसबाट गाडी लक गरिदिएपछि…

डिसी नेपाल
२३ फागुन २०७६ १३:५९

काठमाडौं। भारतको उत्तर प्रदेशको लखनउमा अर्कैको गाडी लिएर घुम्न निस्किएका पुलिसकर्मीहरु गाडी मालिकले जीपीएसबाट गाडी लक गरिदिएपछि आपतमा परेका छन् । उनीहरु ३ घण्टासम्म गाडीभित्रै थुनिए । पछि थानेदारले गाडी मालिकलाई अनेक बिन्तिभाउ गरेपछि मात्र गाडी मालिकले गाडीको लक खोलिदिए । त्यसपछि बल्ल पुलिसहरु शहर फर्किन पाए । भारतीय दैनिक जागरणका अनुसार यो गाडी त्यहाँका विधायक शैलेन्द्र कुमार सिंहका मित्र शिक्षक राजेन्द्र सिंहको थियो ।

यो गाडी राजेन्द्रका छोरा अखण्ड प्रताप सिंहले चलाउँथे । यो गाडी पुलिस थाना पुग्दा पनि यसलाई अखण्डले नै चलाइरहेका थिए । अखण्डका अनुसार उनका साथी आदित्यले केही समयअघि आफ्नो स्कार्पियो गाडी बेचेका थिए । गाडी किन्ने संजय नामका व्यक्तिले गाडीको तिर्न बाँकी किस्ता आफैंले तिर्ने भनेका थिए तर संजयले किस्ता नतिरेपछि आदित्यले नै ५ लाख किस्ता तिर्नुपर्यो । आफैंले किस्ता तिर्नु परेपछि आदित्यले संजयसँग गाडी फिर्ता लिए ।

गाडी फिर्ता लिने बेला अखण्ड पनि आदित्यसँगै थिए । आदित्यले जबरजस्ती गाडी लिएपछि संजयले आफूबाट गाडी लुटिएको भन्दै गोमती नगर थानामा उजुरी दिए । पुलिसले उजुरी आएपछि विवादित स्कार्पियो (युपी ३२ एचएस ७४६०) लाई नियन्त्रणमा लियो । अखण्ड आदित्यसँगै थिए त्यसैले पुलिसले अखण्डको स्कार्पियो (युपी ३२ केजे १३५९) लाइ पनि नियन्त्रणमा लियो । अखण्डले आफ्नो यो केसमा कुनै सम्बन्ध नभएको बताउँदा पुलिसले उनलाई उल्टै धम्क्याएर पठाए ।

अखण्डलाई पठाएपछि पुलिस टिम त्यही गाडी लिएर सयर गर्न निस्कियो । पुलिस थानामा गाडी छोडेर फर्केका अखण्डले आफ्नो मोवाइल फोनमा गाडीको जीपीएर लोकेशन पुलिस थाना भएको गोमतीनगरबाट १३४ किलोमिटर टाढा लखिमपुर खिरीमा देखे । गाडी यति टाढा पुगेको पाएपछि उनलाई गाडी पुलिस थानाबाटै चोरी भएको आशंका भयो त्यसपछि उनले फोनबाटै जीपीएस सिस्टमबाट गाडी लक गरिदिए । अखण्डले गाडी लक गरिदिएपछि पुलिसकर्मी गाडीभित्रै थुनिए । त्यसपछि उनीहरुले पुलिस थानामा फोन गरे । त्यसपछि थानेदारले अखण्डलाई फोन गरेर निकै बिन्तिभाउ गरेपछि अन्ततः ३ घण्टापछि उनले लक खोलिदिए । घटना सार्वजनिक भएपछि एक पुलिसकर्मीलाई निलम्बन गरिएको छ बाँकीमाथि पनि अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *