कोरोनाभाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने अस्ट्रेलियाली विश्वविद्यालयको अध्ययनमा दावी

डिसी नेपाल
२४ फागुन २०७६ १४:०६

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण भयावह रुपमा फैलिइरहेका बेला अस्ट्रेलियाको एक विश्वविद्यालयले गरेको अध्ययनमा यसबाट विश्वभर करिब डेढ करोड मानिसहरुको ज्यान जानसक्ने प्रक्षेपण गरिएको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको एक अध्ययनमा महामारीको सबैभन्दा राम्रो स्थितिमा पहिलो १ वर्षभित्र डेढ करोड मानिसहरुको मृत्युको आशंका गरिएको छ । अध्ययनमा कोरोनाभाइरसको कारण विश्वको अर्थतन्त्रमा पनि निकै खराब प्रभाव पर्ने दावी गरिएको छ ।

विश्वविद्यालयको अध्ययनको हवाला दिँदै डेलिमेलले प्रकाशित गरेको रिपोर्टअनुसार यदि महामारी सबैभन्दा खराब स्थितिमा पुग्यो भने यसबाट विश्वभर ६ करोड ८० लाखले ज्यान गुमाउनुपर्ने दावी गरिएको छ । यसरी ज्यान गुमाउनेहरुमा लाखौं मानिसहरु अमेरिका र बेलायतका हुन सक्ने बताइएको छ । अध्ययनमा चीनमा कोरोनाभाइरसबाट संक्रमित मानिसहरुको मृत्युदर २ प्रतिशत भएको बताइएको छ । विश्व स्तरमा संक्रमितको मृत्युदर ३.४ प्रतिशत भएको उल्लेख छ ।

अध्ययनका अनुसार भारत र चीनमा यसरी ज्यान गुमाउनेको संख्या कैयौं लाख हुन सक्नेछ । अमेरिकामा २ लाख ३० हजारजति मानिस यसको शिकार हुन सक्ने उल्लेख छ । अनुसन्धानकर्ताहरुले अमेरिकामा सामान्य इन्फ्लुएन्जाबाट हरेक वर्ष ५५ हजार मानिसले ज्यान गुमाउने पनि उल्लेख गरेका छन् । अध्ययनमा बेलायतमा ६४ हजार, जर्मनीमा ७९ हजार र फ्रान्समा ६० हजारको मृत्यु हुन सक्ने आशंका जाहेर गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *