तरकारीमा विषादी परीक्षण प्रभावकारी बन्दै, नेपालीमा भन्दा भारतीयमा धेरै विषादी

धनकुमार कार्की
२८ फागुन २०७६ १५:४८

काठमाडौं । राजधानीको फलफूल तथा तरकारीको मुख्य बजार मानिएको कालीमाटी फलफूल तथा तरकारी बजारमा यतिबेला फलफूल तथा तरकारीमा बिषादी परिक्षण कार्यलाई कडाइका साथ नियमितता दिइएको छ । जसका कारण कृषक, व्यापारी र ढुवानीकर्ताहरु केही हदसम्म सतर्क भएका छन्।

छिमेकी राष्ट्र भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने कार्यलाई नेपालस्थित भन्सार विभागले कडाइका साथ पालन गरेपछि भारत सरकारले सो कार्य नगर्न दबाब दिएको थियो । भारत पक्षबाट दबाब आएपछि गत असारमा नेपाल सरकारले ६ महिनाका लागि यो नीति स्थगित गरेको थियो। उपभोक्ताको चौतर्फी विरोधपछि नेपाल सरकारले पुनः विषादी परीक्षण कार्यलाई कडाइका साथ लागू गरेकोे थियो।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले केन्द्रीय कृषि प्र्र्र्र्र्र्रयोगशालाको सहयोगमा समितिकै कार्यालय भवनमा प्रत्येक दिन तरकारीको नमूना छनौट गरी प्रयोगशालामा प्रतिबन्धित विषादीको परीक्षण गर्ने गरेको छ। परीक्षण गर्दा विषदीको परिमाण पहिलेको तुलनामा धेरै कम हुँदै गएको पाइएपनि कहिलेकाही बिषादीयुक्त तरकारी भेटिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजारका उप निर्देशक विनय श्रेष्ठले डिसी नेलालाई बताए। उनले त्यस्ता विषादी प्रयोग भएका फलफूल तथा तरकारीलाई नष्ट गरी सम्बन्धित व्यापारीलाई आवश्यक कारबाही गरिने गरेको पनि बताए।

केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवनले उपलब्ध गराएको जानकारीअनुसार बुधबार परीक्षण गरिएको टमाटर, बन्दा, केराउ, सिमी, काउली र भिण्डी गरी आठवटा नमूनामा सबैको नतिजा उपभोग योग्य आएको थियो। अर्गानोफस्फेट परीक्षणमा सबैभन्दा बढी भारतबाट ल्याएको टमाटरमा २३.२७६ रुकावट प्रतिशत र सबैभन्दा कम नेपालको चितवनबाट ल्याएको बन्दामा ९.५६८२ रुकावट प्रतिशत देखिएको समेत उनले जानकारी दिए ।

यस्तै कार्वामेट परीक्षणमा सबैभन्दा बढी चितवनको बन्दामा २४.७३ प्रतिशत र सबैभन्दा कम नुवाकोटको केराउमा ६.७३११ प्रतिशत देखिएको छ। यसरी एक दिनको नतिजालाई हेर्दा नेपालमा उब्जने तरकारीमा भन्दा भारतबाट आयातित तरकारीमा बिषादीको मात्रा बढी देखिएको छ। प्रयोगशालाले ३५ प्रतिशत भन्दा कमलाई उपभोग योग्य मानेको छ। यस्तै ३५ देखि ४५ प्रतिशतलाई केही दिन राखेर पर्खने र ४५ प्रतिशतभन्दा बढी देखिएमा नष्ट गर्ने गरिन्छ।

अर्गानोफस्फेट एक प्रकारको रासायनिक पदार्थ हो जसलाई तरकारी र फलफूलमा लागेका किराफट्याङ्ग्रा मार्न बिषका रुपमा प्रयोग गरिन्छ। यसलाई किटनाशक पनि भनिन्छ र यसले मानव स्वास्थ्यमा गम्भीर असर पु र्‍याउँछ ।

अर्गानोफस्फेट प्रयोग गरिएका फलफूल तथा तरकारी प्रयोग गर्नाले मानव स्वास्थ्यमा पर्ने असरहरुः

  • आँखा धमिलो हुने,
  • आँखा रसिलो हुने,
  • आँखा झिमझिम गर्न कठिन हुने,
  • नाकबाट पानी बग्ने
  • र्याल निस्कने,
  • टाउको दुख्ने,
  • मांशपेशी दुख्ने,
  • कमजोरी हुने,
  • अल्क्षी लाग्ने जस्ता असर गर्दछ।

यस्तै कार्वामेट पनि एकप्रकारको रसायन नै हो । र यसलाई फलफुल तथा तरकारी उत्पादकहरुले बिषको रुपमा प्रयोग गर्छन् । यसले पनि मानव स्वस्थ्यमा नराम्रो असर गर्छ ।

  • पेटको रोग लाग्ने,
  • छालामा दाग देखिने,
  • शरिरको तौल घट्ने,
  • आलस्य तथा कमजोरीपना हुने
  • यो क्यान्सर रोगको समेत कारक बन्न सक्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *