वुहानकी डाक्टरको खुलासा–‘हामीलाई कोरोनाभाइरसबारे विश्वलाई नबताउन धम्की दिइयो’

डिसी नेपाल
२९ फागुन २०७६ १२:३०

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण भयानक रुपमा फैलिरहेका बेला भाइरसको इपिसेन्टर चीनको वुहानकी एक डाक्टरले चीन सरकारकै अधिकारीहरुविरुद्ध बोलेकी छिन् । उनले आफूहरुले यो भाइरस प्राणघातक भएको र निकै तीव्र रुपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरुले आफूहरुलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आरोप लगाएकी छिन् । उनले यदि त्यतिबेलै सरकार र अधिकारीहरुले आफूहरुको कुरा सुनेको भए यो भाइरस यसरी महामारीको रुपमा नफैलिने दावी गरेकी छिन् ।

वुहानबाट फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभर १ लाख २२ हजार ९ सय २६ जना संक्रमित भइसकेका छन् । ४ हजार ५९५ जनाले ज्यान गुमाइसकेका छन् । वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइरस पत्ता लगाएका थिए उनको मृत्यु भइसकेको छ । केही बेपत्ता भएका छन् । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रोगका बिरामीको उपचार गर्दागर्दै मरे । तर, डिसेम्बरमा जब हामीले यो भाइरसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चुप लाग्न भनियो ।’

डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भाइरसबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो । डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आकस्मिक विभागकी निर्देशक हुन् । यो भाइरसको विषयलाई सामाजिक संजालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जेलमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भाइरसले यति धेरै मानिसको ज्यान लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चुप बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जेलमा नै किन नहालोस् ।’

डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक संजालबाट पनि डा. फेनको अन्तरवार्ता गायब पारिसकिएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनशट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक संजालमा भाइरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बिरामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइरस सार्स कोरोनाभाइरसजस्तै भएको पाइएको थियो । डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक संजालमा राखेर विश्वलाई नयाँ कोरोनाभाइर फैलिइरहेको जानकारी दिए ।

त्यही राती डा. फेनलाई यो नयाँ भाइरसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई धम्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ । डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बिरामी आउन थालेका थिए । डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बिरामी छोराको मृत्युपछि डाक्टर उनका पितालाई मृत्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’




प्रतिक्रिया

One thought on “वुहानकी डाक्टरको खुलासा–‘हामीलाई कोरोनाभाइरसबारे विश्वलाई नबताउन धम्की दिइयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *