अमेरिकामा बसेर रातदिन नेपालीका लागि सहयोग जुटाउँछन् यी अमेरिकी

डिसी नेपाल
१ चैत २०७६ ६:४५

अमेरिका । कहिले महाभूकम्प त कहिले हैजाको महामारी, समय समयमा हामी नेपालीलाई यस्ता विपत्तिले सताइरहेका हुन्छन् । विश्व स्वास्थ्य संगठनको अध्ययनले रेड जोनमा परिसकेको नेपालमा हालसम्म कोरोना भाइरस प्रमाणित भएका विरामी देखिइसकेका छैनन तर यसको प्रकोप हुने हो कि भयले देशलाई सताइरहेकै छ । गरीवीका कारण शिक्षा र स्वास्थ्यलगायत न्युनतम आधारभूत आवश्यकताबाट बञ्चित हुनेहरु पनि कम छैनन् ।

यस्तो अवस्था देखेर नेपाल र नेपालीका लागि आफ्नो समय खर्च गर्ने महान् आत्माहरुको निकटमा पुग्दा पनि ठूलो राहत महसुस हुंदो रहेछ । नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट डेलेसीलाई भेट्दा मलाई त्यस्तै महसुस हुन्छ । उनी अमेरिकाको राजधानी वासिंगटन डिसीमा बसेर त्यहांबाट सात समुद्रपारिको एउटा सानो मुलुक नेपाल र त्यहांका बासिन्दा नेपालीका लागि सहयोग जुटाउन अहोरात्र क्रियाशील छन् ।

पूर्वराजदूत  डेलिसी नेपालीहरू माझ अपरिचित नाम भने होइन । तर, हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ कि उनी इन्गेज नेपाल भन्ने एक गैह्र नाफामूलक परोपकारी संस्थामार्फत सन् २०१५ देखि निरन्तर नेपालीका लागि काम गरिरहेका छन् ।

केवल नेपालीका लागि मात्र सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थालाई नेतृत्व प्रदान गरिरहेका छन् । सन् २०१० देखि २०१२ सम्म नेपालमा राजदूतका रुपमा काम गरेका डेलिसीको नेपाल र नेपालीप्रतिको गहिरो मायाप्रेम उनको कुटनैतिक जिम्मेवारीपछि झनै बढ्दै गयो ।

र,  त आफ्नो पूर्णकालीन सेवाबाट अवकाश लिएपछि नेपालकै लागि काम गर्ने दृढ भावनाका साथ  निरन्तर काम गरिरहेका छन् । उनको यो कामबाट जो कोही पनि प्रभावित नभइरहन सक्दैन । हाल उनी यो संस्थाको कार्यकारी निर्देशक हुन् र साथमा केही नेपालीहरु लाई पनि समावेश गरेका छन् ।

खेमराज सेढाईं

करिव एक वर्षअगाडि मैंले यस संस्थाको बारेमा केही जानकारी पाएँ । हामीलाई थाहा नै छ यस्ता संस्था त कति छन् कति । मलाई पनि शुरुमा त त्यही लागेको थियो । तर पनि मलाई यस संस्थाको बारेमा अलि जान्न मन लाग्यो र केही सामाग्री खोजखाज गरेर पढें । संस्थाले गरेका कामको बारेमा केही जानकारी पाएपछि यस बारेमा थप जान्न मन लाग्यो ।

र, मैले पूर्व राजदूत  डेलिसीलाई भेटेर कुरा गर्न मन लागेको कुरा जानकारी गराएँ । उनले त्यो आग्रहलाई अत्यन्त खुशीका साथ स्वीकार गरे ।

दुईपटकको प्रत्यक्ष भेटघाट र कुराकानीबाट मैले यस संस्थाको बारेमा अझ बढी जान्ने बुझ्ने अवसर पाएँ । यस संस्था, यसले गरेका कामहरू र यसका उद्देश्यहरूको  बारेमा मलाई लागेका जिज्ञासाहरूको उनले एकदमै सहज र सरल ढंगले जानकारी दिएका थिए । यस संस्थाले सही दिशा लिएको र एकदमै पवित्र भावनाका साथ काम गरिरहेको कुरामा मलाई पूर्ण विश्वास भएपछि लाग्यो मैले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्छ । अनि म पनि  यस संस्थासंग आवद्ध भई काम गर्न थालें ।

इन्गेज नेपालले स्थापनाकालदेखि नै नेपालका विभिन्न भूभागमा शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । खासगरी नेपालप्रति माया ममता देखाउनु हुने अमेरिकी नागरिक, अमेरिकामा बसोबास गर्नुहुने नेपालीहरू र विभिन्न संघ-संस्थाको सहयोगमा इन्गेज नेपालले आफ्ना कामहरु गर्दै आएको छ । यस संस्थाले स्थापना कालदेखि गरिरहेका  कामहरूको  जानकारी  संस्थाको वेभ साइट र यसको फेसवुक पेजबाट  लिन सकिन्छ ।

विगत केही वर्षदेखि यस संस्थाले वार्षिकरुपमा लगभग ६० लाख नेपाली रुपैंया बराबरको प्रत्यक्ष आर्थिक सहयोग नेपाल र नेपालीको लागि गर्दै आइरहेको छ । अबका दिनमा संस्थाका  कार्यक्रमलाई अझै विस्तार गर्न र प्रभावकारी वनाउन संस्थालाई धेरै भन्दा धेरै सहयोगदाताहरुको साथ र सहयोग चाहिएको छ ।

अझ खासगरी अमेरिकावासी नेपालीहरूको साथ र सहयोग झनै बढी चाहिएको छ । तपाईंले गर्नु भएको सानो सहयोगले हामी नेपालमा धेरै काम गर्न सक्छौं। उदहरणको लागि मासिक १० डलर वा २० डलर वा एकमुस्ट रुपमा केही रकम सहयोग गर्न सक्नुहुनेछ ।

अरु साथीलाई यसबारेमा जानकारी दिनु पनि एक प्रकारको सहयोग हो । विदेशीहरूले  त सहयोग गर्नु भएको छ भने हामी नेपालीले केही सहयोग गर्ने हो भने यस संस्थाको थुप्रै कार्यक्रमलाई ठूलो टेवा पुग्छ ।

इन्गेज नेपालमार्फत सहयोग गर्नको लागि यस संस्थाको वेभ साइटमा गएर आफूले चाहेका जति पनि रकम दान गर्न सकिने व्यबस्था गरिएको छ । सहयोगदातालाई सम्मान गर्ने राम्रो संस्कृति पनि संस्थाले विकास गरेको छ । सहयोग दाताहरु नै यो संस्थाको दूत बन्न सक्ने व्यबस्था गरिएको छ । त्यसैगरी च्यम्पियन्स अफ नेपालबाट सम्मानित गर्ने व्यबस्था गरिएको छ।

(लेखक सेढाईं अमेरिकामा अध्ययनरत छन् र उनी इन्गेज नेपालको संचालक समिति सदस्य हुन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *