कोरोना भाइरस : राजधानीका दुई ठूला अस्पताल, वीर र शिक्षण अस्पतालको तयारी कस्तो छ ?

धनकुमार कार्की
४ चैत २०७६ ७:२९

काठमाडौंं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपसँग लड्न सरकारले स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आईसीयू बेड र आइसोलेटेड बेड व्यवस्थापनबारे निर्णय गरेको छ।

समितिले आयूर्वेद अस्पताल कीर्तिपुरमा २००, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा २२०, खानेपानी तालिम केन्द्रमा ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका अस्पतालहरुमा १०० र इचंगुनारायाणस्थित सैनिक ब्यारेकमा २५० आइसोलेटेड बेड व्यवस्थापन गर्ने निर्णय गरेको छ। काठमानडौका अन्य दुई ठूला अस्पतालले पनि आफ्नो तर्फबाट आन्तरिक तयारी गरिरहेका छन्।

शिक्षण अस्पतालको अस्पताल परिसरमै अस्थायी फिवर ओपीडी स्थापनाको तयारी

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस यतिबेला विश्वव्यापी रुपमा फैलिसकेको छ। विश्व स्वस्थ्य संगठनले नेपाललाई पनि खतराको सूचिमा राखिसकेको छ। देशकै प्रतिष्ठित अस्पतालका रुपमा चिनिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले यसका निम्ति आन्तरिक पूर्वतयारी थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यरोपणको चुनौती व्यवस्थापनमा पछिल्लो एक महिना व्यस्त बनेको शिक्षण अस्पताल कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई लिएर गम्भिर भएको छ।

अस्पतालले कोरोना भाइरसको रोकथामका लागि समग्र उपचार व्यवस्थापनमा काम गर्न र आवश्यक सुझाव पेश गर्नका लागि अस्पतालका डाक्टर सन्तकुमार दासको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ।

सँधै भिड हुने भएकाले अस्पतालमा यतिबेला कुनै आइसोलेसन वार्ड खाली छैन। हालसम्म अस्पतालमा आएका कोरोना आशंका गरिएका केही बिरामीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ। ओपिडीमा सामान्य रुघाखोकी र ज्वरोका बिरामीहरु पनि केही मात्रामा बढेका देखिन्छन्।

आवस्यक परेको खण्डमा अन्य सेवा अबरुद्ध गरेर भएपनि अघि बढ्ने समितिका संयोजक डा।सन्तकुमार दासले डिसी नेपाललाई बताए।

कोरोना भाइरसको आशंकामा आउने बिरामीलाई अस्पताल परिसरमै टेन्ट टाँगेर अस्थायी फिभर वार्ड सञ्चालन गर्ने तयारी भैरहेको र आइसोलेसन वार्ड निर्माणका लागि लागुऔषध प्रयोगबाट बिरामी परेकाहरुलाई राखिने भवनका लागि निर्देशकसमक्ष अनुरोध गर्ने पनि बताए।
यस बिषयमा कुरा गर्न खोज्दा अस्पतालका कार्यकारी निर्देशक डा।प्रेमकृष्ण खड्काले कुनै प्रतिक्रिया दिएनन्।

वीरमा पाँच आइसोलेसन वार्ड तयारी अवस्थामा आवश्यक परे जाइका भवन प्रयोग गर्ने

बिरामीको चाप अत्याधिक हुने अर्को ठूलो अस्पताल वीर अस्पतालले पनि कोरोना भाइरसको रोकथामका लागि ओपिडि स्क्रिनिङ गर्ने तयारी गरीरहेको छ। हालसम्म कुनै आशंका गरिएका बिरामी भने आएका छैनन्।

वीरका निर्देशक डा केदारप्रसाद सेन्चुरीले कोरोना भाइरसको हल्ला फैलिएपछि पाँच ओटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको बताए। उनले वीरले इमरजेन्सी वार्डमै शंकास्पद बिरामी निम्ति दुईवटा बेड छुट्याएको छ भने अन्य ९६ बेड तयारी अवस्थामा रहेको र आवश्यक परेको खण्डमा अस्पतालको मुख्य भवनभन्दा पछाडिको जाइका भवन पुरै प्रयोग गर्न मिल्न पनि बताए।

यसबाहेक डाक्टर तथा नर्सले उपचार गर्दा लगाउने गाउन, मास्क, पञ्जा र अन्य सर्जिकल सामग्री व्यवस्था गर्ने काम भइरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *