कोरोना त्रासः आजदेखि मनकामना मन्दिरमा सर्वसाधारणलाई प्रतिबन्ध

डिसी नेपाल
८ चैत २०७६ १०:१६

काठमाडौँ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ।

कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उनले बताए।

मनकामना मन्दिरमा दैनिक करिब तीन हजार ५०० भन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन्। धार्मिक हिसाबले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ।

यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले बताए । चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ।

उनका अनुसार अब बिहान सधैँ जस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । यो वर्षको चैतेदशैँ भने आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैँको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *