साउदी अरेबियामा पनि आंशिक कर्फ्यू, आज बेलुकीदेखि लागू हुने

डिसी नेपाल
१० चैत २०७६ १०:२७

काठमाडौं। साउदी राजा सलमान बिन अब्दुल अजीजले साउदी अरेबियामा आंशिक कर्फ्यू लागू गरिने घोषणा गरेका छन् । शाही अदालतबाट जारी भएको र साउदी प्रेस एजेन्सीमा प्रकाशित राजाको वक्तव्यअनुसार कर्फ्यू आज बेलुकीदेखि ७ बजेदेखि लागू हुनेछ । कर्फ्यू आजदेखि २१ दिनसम्म हरेक दिन बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ११ घण्टाका लागि लागू हुनेछ ।

राजा सलमानले वक्तव्यमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन् । साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरिकलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ ।

केही कामदारको हकमा भने कर्फ्यु लागू नहुने साउदी प्रेस एजेन्सीले जनाएको छ । मुलुकका महत्वपूर्ण सार्वजनिक क्षेत्र र निजी क्षेत्रका कामदारलाई भने नियमित रुपमा काम गर्न दिइने एजेन्सीले जनाएको छ । सुरक्षा क्षेत्र, सेना, सञ्चारमाध्यम, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रका कामदारलाई कर्फ्यु लागू हुने छैन ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले कर्फ्युको अवधिका नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएमा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ । सोमबार बिहानसम्म साउदी अरबमा ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *