कोरोनाको त्रासमा तथाकथित भगवानहरु पनि

डिसी नेपाल
१४ चैत २०७६ ११:२२

विज्ञान मान्छेको दिमागबाट सञ्चालित हुन्छ । प्रकृतिबाट मान्छे सञ्चालित हुन्छ । विज्ञान बेला बेलामा हार्न पुग्छ । विनम्र प्रार्थाना गर्दैछ विज्ञान प्रकृतिसँग । मान्छे त यसै पनि नाशवान छ । जन्मपछि मृत्यु अवश्य छ । जन्म र मृत्युको बीचको अवधिलाई मान्छे लम्ब्याउन चाहन्छ । मान्छेको शरीरमा रोग लाग्छ । आत्मा र चेतनालाई रोग लाग्दैन । मान्छेले मान्छेका लागि मानवीय करुणसाथ विज्ञानप्रति मात्र होइन विज्ञानका आविस्कारहरु, सिमाना सिमानामा तोकेर जाति, धर्म र राष्ट्र, संस्कृतिका नाममा मान्छेले विभाजन गरेको भूगोलका सिमारेखाहरुबीचको मान्छेको लडाईको लागि हतियारको होडमा पनि मान्छेले विज्ञानलाई सञ्चालन गरेको छ । प्रकृतिबाटै उब्जित जीवाणुहरुको अतिक्रमण रोक्ने प्रयासमा मानव जाति लागेपनि कुनै कुनै जिवाणु मानवसभ्यता र सम्पूर्ण मानव जातिको सक्दो क्षति पु¥याएर मात्र विश्राम लिन्छ ।

समयमा सचेतना, संयम र धैर्यता हुंदा कम क्षति हुनसक्छ । शक्ति राष्ट्र अमेरिका बेलायत, जापान, चीन लगायत यूरोपियन राष्ट्रहरु उपल्लो दर्जाका विश्व नागरिक बस्ने स्थानको रुपमा गनिन्थे । खानपान, रहनसहन, वैभवता, समृद्दि, विकासको एउटा मोडमा पुगिसकेको राष्ट्रहरुलाई कोभिड–१९ यानि कोरोनाले हम्मे हम्मे पारेको छ । लोभलाग्दो भनिएको त्यहांको जीवनलाई पनि तहसनहस बनाएको छ ।

कोरोना आतंकरुपी जीवाणु । कहाँबाट आयो कोरोना यो वहसको विषय आज रहेन अब । सन्त्रासमा मान्छे घरभित्र कैद छ । सन्त, महन्त, फादर, मौलाना, पंडित वा सबै सबै धर्मका तथाकथित र स्वघोषित जीवित भगवानहरु सबै मृत्युको भयबाट चिन्तित छन् । खुल्ला समाज खानपान, विज्ञानको प्रकृति दोहन, स्वतन्त्रताको नाममा छाडातन्त्रले कोरोना हट्दैन । कोरोनाको अर्कोरुप फेरि कुनै कालखण्डमा आउन सक्छ । लाग्छ कोरोनाको भयले पुरानो सँस्कृति, सनातनी सँकृतिले फेरी टाउको उठाएको छ । आधुनिकता, र जातिवादी भोगवादी चिन्तनले हामीले कुल्चेका थियौं हाम्रा आफ्ना जीवन पद्धतिहरुलाई । मानिसहरु सामाजिक सञ्जालमा सत्ताको रिस राग, लाञ्छना पोखिएका छन् कोरोनाको कहरमा कैद हुँदा पनि ।

बाँचे घिउ खान पाइन्छ । बाँचौ र बचाउको अभियानमा मानवद्वारा मान्छेकै लागि निर्मित शासन सत्ताको पनि केही कर्तव्य हुन्छ । जीवनलाई बचाउनका लागि विश्वका सत्ताहरुले स्वनिर्मित घरलाई जेल मानेपनि, बोधिबृक्ष माने पनि, तपस्या स्थल माने पनि, मन्दिर, मस्जिद्, चर्च, गुम्बा विहार जे माने पनि घरलाई मान । घरमै बस आत्मचिन्तन गर । म के हुँ, के गरे ? के गर्नुपर्छ सकारात्मक चिन्तन गर । कोरोनाले मन्त्री भन्दैन, राष्ट्रपति भन्दैन, यूवराज भन्दैन, धनसेठहरु भन्दैन । नढाँट सत्ताहरु, अनुशासन, विधिविधान नतोड मान्छेहरु । यो यथार्थभित्र मोह छ । मायाँ छ , फेरि भोलिको जीन्दगी छ । जिन्दगी नरहे केही छैन । मृत्यु अनिवार्य हुँदा हुदै पनि मान्छे मर्न चाहदैन । मर्न हुदैन लामो समयसम्म ।

जिन्दगीलाई अनुभव गरौं । भोग विलासिताभन्दा पर गएर । कोरोनाले विश्व अर्थतन्त्र चकनाचुर गर्ला । हडप्पा र मेहनजोदाडो सम्यता नास भए पनि फेरि नयाँ सभ्यता आयो । फेरि विकास गर्न सकिन्छ । प्रकृति मैत्री भएर ।

अमेरिकाको हतियारको, चीनको हतियार, भारत, पाकिस्तानको हतियारको आज के काम भयो र ? उनीहरु यी हतियारले कोरोनाविरुद्ध विश्वयुद्ध लड्न सकेनन् बरु शक्तिशाली हुंदा हुंदै पनि आफ्ना नागरिकहरु भकाभक मरेको हेरेर बस्न बाध्य भएका पो देखिन्छन् यी मुलुकहरु । सबल सक्षम स्वास्थ्य संसारमा चाहिने हो । मरिन्छ या बाचिन्छ सत्ताले दिएको उर्दी सचेत हुँदै संयम हुदै पालना गर्दा पनि । बाचिन्छ भन्ने आसले पालना गर्ने हो । उर्र्दी फरमानहरुमा कोरोनाको औषधि छैन । यसको औषधि पूर्वीय दर्शनको आत्मसंयम र आत्म चिन्तन मात्र हो । पूर्वीय दर्शनको जीवन पद्धति हो । कोरोनाको डर जगाएर लुट्नेहरु तिनलाई एकदिन यस्तै कोरोनाहरुले लुटनेछन् ।

सिकन्दर जस्तै खालिहात जाने छन् । कोरोनाबाट बचौँ र कोरोनालाई राजनीति गर्न नदेउं । शक्ति राष्ट्रको होडबाजीमा कोरोनालाई स्वतन्त्रता नदिउँ । कोरोनाको चैन तोडौं । घरमै बसेर । नढाटौं आफैले आफैलाई यो कालकुट विष बन्नेछ । अवको जमानमा कुनै त्यस्तो सत्ययुगको शिव आउने छैन जसले हामीले गरेका कुकर्मका आधारमा जन्मेको कालकुट विष पिउने छैन । सत्प्रयासबाट गरेको सकारात्मक चिन्तनबाट थालिएको अभियानमा दुर्भाग्यबस जन्मेको खरावीको साइड इफेक्टमात्र पच्न सक्छ अव ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *