कोरोनाभाइरस: बाहिरबाट सङ्क्रमित आउन थालेपछि चीनद्वारा विदेशीलाई प्रवेशमा रोक

डिसी नेपाल
१४ चैत २०७६ १३:१०

बेइजिङ (बीबीसी)। चीनमा सबै विदेशी नागरिकलाई प्रवेश गर्न नदिने अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रवेशाज्ञा वा बसोबासको अनुमति भएकाहरू पनि शनिवारबाट चीन जान पाउने छैनन्।

चीनमा तीन दिनयता पहिलो पटक स्वदेशमै भएको नयाँ सङ्क्रमण फेला परेको थियो। अन्यथा सबैजसो विदेशमै सङ्क्रमित भएकाहरू भेटिएका थिए। बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए।

नयाँ नियममा के छ?

चीनको विदेश मन्त्रालयले ‘कोभिड-१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ। उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालकदलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुनेछ।

आपत्‌कालीन मानवीय सहायतासँग सम्बन्धित वा त्यस्तै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अपवाद मानिने बताइएको छ।
तर चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकिसकेको र विभिन्न सहरहरूमा अवतरणमा रोक लगाइसकिएको सन्दर्भमा पछिल्लो निर्णय नाटकीय जस्तो देखिन्छ।

चीनमा सङ्क्रमण कस्तो छ?

कोरोनाभाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामाभन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा थोरै छ। चीनको न्याश्नल हेल्थ कमिशनले त्यहाँ ८१,३४० जनामा सङ्क्रमण पुष्टि भएको र ३,२९२ जनाको ज्यान गएको शुक्रवार जनाएको छ।

पुष्टि भएकामध्ये ५६५ जना विदेशमा सङ्क्रमित भएर गएकाहरू छन्। जसमा विदेशी वा विदेशबाट फर्किएका चिनियाँ नागरिक पर्छन्। प्रकोप सुरु भएको हुबे प्रान्तमा बिहीवार नयाँ सङ्क्रमित वा शङ्कास्पद बिरामी भेटिएनन्। प्रान्तको राजधानी वुहानमा ज्यानुअरी महिनामा सुरु भएको लकडाउन ८ एप्रिलबाट खुकुलो बनाइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *