कोरोनाभाइरस नियन्त्रण अभियानमा ‘ब्रेक थ्रु’, ‘प्यासेन्ट जीरो’को पहिचान

डिसी नेपाल
१५ चैत २०७६ १३:११

बेइजिङ। चीनका स्वास्थ्य विशेषज्ञहरुले आफूहरुले सबैभन्दा पहिले यो भाइरसबाट संक्रमित भएको पुष्टि भएका मानिसको पहिचान गरेको विश्वास गरेका छन् । यसले विशेषज्ञहरुलाई कहिले र कसरी यो भाइरस जनावरबाट मानिसमा फैलिन सुरु भयो भन्ने जानकारीको निकै नजिक पुर्याएको छ । यो जानकारीले यसको नियन्त्रणका लागि भ्याक्सिन र औषधी बनाउने काममा पनि ठूलो सहयोग पुग्नेछ ।

यो संक्रमण वुहान शहरको हुआनान सीफूड तथा घरपालुवा जनावरका बजारबाट सुरु भएको थियो । द डेली एक्सप्रेसका अनुसार अहिलेसम्म ५७ वर्षकी एक महिलालाई यो भाइरसबाट संक्रमित भएको पुष्टि भएकी पहिलो महिलाको रुपमा विश्वास गरिएको छ । यी महिला सीफूड व्यापारी हुन् जसले जिउँदो झिंगेमाछा बेच्छिन् । उनले डिसेम्बर १० देखि नै बिरामी महसुस गर्न थालेकी थिइन् । उनलाई सुरुमा आफूलाई साधारण रुघाखोकी लागेको भन्ने लागेपछि स्थानीय क्लिनिकमा उपचार गराएर काममा फर्केकी थिइन् ।

यो विन्दूमा उनले अन्जानमै अरुलाई संक्रमण गर्न थालेको विश्वास गरिएको छ । उनले चिनियाँ मिडिया आउटलेट द पेपरलाई भनिन् ‘मैले केही थकिन महसुस गरें तर अघिल्ला वर्षहरुमा जस्तो थकित पनि होइन । प्रत्येक चिसो मौसममा म फ्लुले ग्रस्त हुने गर्छु । त्यसैले मैले सोचें यो पनि फ्लु नै हो ।’

उनीमा लक्षणहरु बढ्दै गए र ८ दिनपछि उनीअस्पताल पुगिन् जतिबेला यो अत्याधिक संक्रामक रोगले अरुलाई पनि संक्रमण गर्दै फैलिन थालिसकेको थियो । आजसम्म आइपुग्दा करिब ६ लाख मानिसहरु विश्वव्यापी रुपमा संक्रमित भइसकेका छन् र २० हजार बढीले ज्यान गुमाइसकेका छन् ।

सुरुमा बिरामी महसुस गरेकी वेइले दोस्रो पटक वुहानको द एलेभेन्थ अस्पतालमा चिकित्सकीय परामर्श लिन पुगिन् । उनले भनिन् ‘एलेभेन्थ हस्पिटलका डाक्टरहरुले पनि मलाई के भएको हो भन्ने पत्ता लगाउन सकेनन् र मलाई केही चक्की दिए । त्यसपछि मैले निकै खराब र असहज महसुस गर्न थालें । मसँग शक्ति वा ऊर्जा थिएन ।’

डिसेम्बर १६ मा उनी वुहान युनियन अस्पताल पुगिन् जहाँ डाक्टरले उनीमा देखिएका लक्षणलाई ‘निर्दयी’ को रुपमा चित्रण गर्दै उनीजस्तै लक्षण भएका शहरका अन्य मानिसहरु पनि अस्पताल आएको खुलासा गरे । डिसेम्बरको अन्त्यतिर उनलाई क्वारेन्टाइनमा राखियो र डाक्टरहरुले यो रोग र बजारको कडी खोज्न थाले । यद्यपि विश्व स्वास्थ्य संगठनलाई डिसेम्बरको अन्त्यसम्म यसबारे जानकारी दिइएको थिएन र जनवरी ५ सम्म प्रेस वक्तव्य जारी गरिएन ।

वुहान महानगरीय स्वास्थ्य आयोगले डिसेम्बर ३१ मा जारी गरेको वक्तव्यमा वेइलाई सुरुवातमा भेटिएका २७ कोभिड १९ संक्रमित मध्ये एक र पशुपन्छी बजारसँग सीधा सम्पर्कमा रहेका २४ संक्रमितमध्ये एकको रुपमा उल्लेख गरियो । वेइ आफू भने पशुपन्छी बजारमा रहेको सार्वजनिक शौचालयको प्रयोगपछि आफू भाइरसको संक्रमणमा आएको विश्वास गर्छिन् जुन शौचालय उनीसँगै जंगली जनावरको मासु बिक्रेताहरुले पनि प्रयोग गर्छन् । जनवरीको सुरुवातमा उनी विस्तारै निको हुँदै गइन् । वेइले आफूसँगै छेउछाउका अन्य बिक्रेताहरु पनि बिरामी भएकोतर्फ इंगित गर्दै आफू शौचालयबाटै संक्रमित भएको द पेपरलाई बताइन् ।

यद्यपि उनी यो बजारमा संक्रमित पहिलो व्यक्ति भए पनि उनी वास्तविक ‘प्यासेन्ट जीरो’ भएजस्तो नदेखिने पश्चिमा विज्ञहरू विश्वास गर्छन् । प्यासेन्ट जीरो त्यो व्यक्ति हो जो यो भाइरसबाट संक्रमित पहिलो मानिस हो अर्थात प्राणीको कुनै अन्य प्रजातिबाट मानव प्रजातिमा भाइरस सरेको पहिलो व्यक्ति ।

यो महिनाको सुरुवातमा लिक भएका चिनियाँ सरकारी तथ्यांकले वुहानमा मानिसहरुलाई पहिले विश्वस गरिएको समयभन्दा पहिल्यैदेखि संक्रमित गर्न थालेको तर्फ संकेत गर्छन् । यी दस्तावेजले पहिलो बिरामीको पहिचान नोभेम्बर १७ मा भएको संकेत गर्छन् । दस्तावेजमा यो मितिभन्दा पहिल्यै पनि संक्रमण भइसकेको हुन सक्ने आशंका उल्लेख छ ।

जोनस हप्किन्स सेन्टर फर हेल्थ सेक्यरिटीका सिनियर अनुसन्धानकर्ता डा. अमेश बडल्जाका अनुसार यो कहाँ र करी भयो भन्ने पुष्टि गर्नु चुनौतीपूर्ण हुन्छ । उनले डेली एक्सप्रेससँग भने ‘हामीले वास्तवमा कुनै पनि संक्रामक रोगको प्यासेन्ट जिरो चिन्दैनौं । तर कहिलेकाहीँ हामीले कुनै निश्चित प्रकोपको प्यासेन्ट जिरो पहिचान गर्न सक्छौं जस्तै गुयनामा फैलिएको इबोला ।’

इबोलाको केसमा प्यासेन्ट जिरो विश्वस गरिएका व्यक्ति २ वर्षका बालक थिए । ‘यो अपरेशनका लागि प्यासेन्ट जिरो पत्ता लगाउनुले उसलाई संक्रमित गर्ने पशु मध्यस्थकर्ताको पहिचान गर्न सकिन्छ । यसबाट कसरी भाइरस विकसित भयो भन्ने पत्ता लगाउन सहयोग हुन्छ । प्यासेन्ट जिरोको पहिचान गर्नाले हामीले प्रकोपको मिति र समय पत्ता लगाउन सक्छौं जसले हामीलाई यसबारे भविष्यको प्रक्षेपण गर्न सहयोग हुन्छ’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *