कोरोना संक्रमितको उपचार गर्ने डाक्टर आफ्नै घरबाहिर पाल टाँगेर बस्छन्, घरभित्र पस्दैनन्

डिसी नेपाल
१६ चैत २०७६ १३:५८

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुको उपचारका लागि खटिएका एक डाक्टरले आफ्नो परिवारका सदस्यहरुलाई भाइरसको संक्रमणबाट बचाउन आफ्नो घरबाहिर पाल टाँगेर बस्ने निर्णय गरेका छन् । अहिले उनी आफ्नो घरको गाडी राख्ने ग्योजमा पाल टाँगेर बस्छन् । यी डाक्टर अमेरिकाको क्यालिफोर्नियाका हुन् । अमेरिकामा कोरोनाभाइरसको संक्रमण अत्याधिक बढेसँगै डाक्टर टिम्मी चेंगले यस्तो निर्णय गरेका हुन् ।

डाक्टर चेंग आफ्नो कारण परिवारका सदस्य खतरामा परुन् भन्ने चाहँदैनन् त्यसैले उनले यस्ता निर्णय गरेका हुन् । डेलिमेलको रिपोर्ट अनुसार डा. चेंग क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी आफ्नै घरको ग्यारेजमा पाल टाँगेर बस्न थालेका छन् । एउटा ट्वीन म्याट्रेस, ल्यापटप र केही स्न्याक्सको साथमा उनी पालमा समय बिताउँछन् । अस्पतालमा आफ्नो काम पूरा गरेपछि बाँकी समय डा. चेंग यही पालभित्र बस्छन् ।

चेंगले फेसबुकमा लेखेका छन् ‘मैले आफैंसँग होमलेस (घरबारविहीन) हुने निर्णय गरें ताकि यदि म संक्रमित भइहालें भने पनि मेरो परिवारका दस्य संक्रमित नहोउन् ।’ डा. चेंगका अनुसार एक रात त उनले आफ्नो कारमै बिताएका थिए । त्यपछिका थप ४ रात उनले अस्पतालको कल रुममा सुतेर बिताएका थिए । पाँचौं रात ग्यारेजमा पाल टाँग्ने सुझाव उनलाई उनकी पत्नीले दिएकी थिइन् ।

डा. चेंग क्यालिफोर्नियाको इरविनस्थित युसीआइ मेडिकल सेन्टरमा काम गर्छन् । चेंगलाई थाहा छ उनलाई कैयौं महिनासम्म पालमै बस्नु पर्न सक्छ किनकि अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । डाक्टरको परिवार उनका लागि पालमै स्न्याक्स ल्याइदिन्छन् तर त्यसलाई ग्यारेजको डोकाबाहिरै राखेर जान्छन् । पाल नजिकै उनको कार हुन्छ जसमा उनी अस्पताल जान्छन् र फर्कन्छन् ।चेंगले आफ्नो यो निर्णयबारे फेसबुकमा लेखेका छन् जसलाई हजारौं पटक शेयर गरिएको छ । उनले फेसबुकमा सर्वसाधारणलाई अपिल गर्दै लेखेका छन् ‘यदि तपाइँ स्वास्थ्यकर्मीहरु घरबारविहीन नहोउन् भन्ने चाहनुहुन्छ भने तपाइँ घरमै बसिदिनुहोस् ।’ अमेरिकाको क्यालिफोर्नियामा मात्रै कोरोनाभाइरसका कारण १०० भन्दा धेरैको मृत्यु भएको छ । संक्रमितको संख्या हजारौं छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *