ग्यास अभावसँगै इन्डक्सन चुलोप्रति आकर्षण

डिसी नेपाल
१६ चैत २०७६ १७:०३

काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणमा विद्युतबाट चल्ने इन्डक्सन चुलोप्रति आकर्षण बढ्न थालेको छ ।

भूकम्पका बेलामा चीन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलोको लामो समय सरकारको गोदामा थन्किएर बसेको थियो । कोरोना भाइरसको त्रासका कारण ग्यास अभाव हुन थालेपछि चैतको पहिलो साताबाट चुल्हो बिक्री बढ्न थालेको थियो ।

चैत ९ गते एकैदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७०० थान इन्डक्सन चुलो विक्रि गरेको सहायक विभागीय प्रबन्धक धर्मकुमारी राजवंशीले जानकारी दिइन् ।

पछिल्लो समय सरकारले लकडाउनसँगै विद्युत महशुलमा समेत छुट दिने घोषणा गरेकापछि इन्डक्सन चूलोप्रति सर्वसाधारणको चासो बढिरहेको कम्पनीले जनाएको छ । लकडाउन भएसँगै व्यापार घटेको छ, तर चूल्हो किन्नका लागि सर्वसाधारणको फोन आइरहेको छ–राजवंशीले भनिन् ।

लकडाउनपछि कम्पनीले घुम्ती बिक्री सेवा बन्द गरेपनि केन्द्रीय कार्यालय थापाथलीलगायतका बिक्री डिपो भने खुल्ला राखेको छ । लकडाउनमा पनि केहि ग्राहकहरु चूल्होका लागि विक्रि कक्षमा आएको समेत राजवंशीले बताइन् ।

हाल कम्पनीले उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, लगनखेल र सुर्यविनायकबाट इन्डक्सन विक्रि गरिरहेको छ ।

बजारमा हाल इन्डक्सन चुलोको मुल्य १२ हजार कम्पनीले इन्डक्सन चुलोको मूल्य ४ हजार रुपैयाँ तोकेको छ। चुलो खरिदमा एउटा कराई पनि फ्रिमा दिइएको जनाएको छ ।  कम्पनीसँग करिव ३५ सय थान इन्डक्सन स्टकमा रहेको जनाएको छ ।




प्रतिक्रिया

One thought on “ग्यास अभावसँगै इन्डक्सन चुलोप्रति आकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *