बेलायतमा कोब्रा बैठक : २० हजारको मृत्यु हुने प्रक्षेपण

डिसी नेपाल
१६ चैत २०७६ २२:५१

लण्डन। बेलायतमा कोरोना भाइरसबाट यहाँका प्रधानमन्त्री, स्वास्थमन्त्री देखी राज परिवारका सदस्यसम्म संक्रमित भएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले दुई दिनअघि ट्वीटरमार्फत आँफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। अहिले उनी सेल्फ आईसोलेशनमा छन्।

यसैगरी,  स्वास्थमन्त्री म्याट हनकक्लाई पनि कोरोना भाइसको संक्रमण भएको छ। उनी पनि घरमै सेल्फ आइसोलेशनमा छन्। राजपरिवारका सदस्य युवराज चाल्र्स पनि संक्रमित भएका छन्। उनी आइसोलेशनमा छन्।

राजपरिवारका सदस्यदेखि प्रधानमन्त्रीसम्म संक्रमित भएपछि बेलायतमा सबै स्तरका मान्छेलाई तर्साएकोछ। यहाँको सरकार लकडाउन गर्ने सुरसारमा थिएन तर जब सरकारका सल्लाहकार तथा ईम्पेरियल कलेज लण्डनका वैज्ञानिक निल फेर्गुसनले लकडाउन नगरे करीब दुई लाख पचास हजार मान्छे मर्ने भनेर तथ्याङक पेश गरे पछि तत्कालै प्रमले कोब्रा बैठक बोलाएर लकडाउनको निर्णय सुनाएका थिए।

खासगरी कोब्रा बैठक देशमा आपतकालिन अवस्था आई लाग्दा बस्ने बैठक मानिन्छ बेलायतमा। हिजो यहाँको रेडियो ४ लाई अन्तरवार्तामा वैज्ञानिक निलले अब जुनसुकै प्रतिरक्षात्मक अवस्था सृजना गरे पनि कोरोना भाइरसका कारण करीब बीस हजार नागरिकको मृत्यु हुन्छ भनेका छन्।

हिजो मात्र एकै दिनमा २६० र आज २०९ जनाको मृत्यु भएको छ भने मर्नेको संख्या बाह्र सय नाघेकोछ। त्यस्तै संक्रमितको संख्या उन्नाइ हजार भन्दा बढी पुगेकोछ।आजको परिस्थित अझ दुई तीन हप्ता रहने अनुमान गरिएको छ। हुन त इटाली भन्दा केवल तीन हप्ता पछि छौं भनेर यहाँका डाक्टर स्वास्थ वैज्ञानिकहरूले सचेत गराउँदा गराउँदै पनि सम्पूर्ण रुपमा बन्द गर्न आनाकानी गरेपछि यहाँका प्रमको सबै तिरबाट चर्को विरोध र दबाब आएको थियो।

हिजो राती प्रम बोरिस जोन्सनले आउँदो समय अझै कठिन रहने र त्यस पछि बल्ल स्थिति सामान्य हुने बताउँदै प्रत्येकको घरमा अर्को हप्ता भित्र पत्र पठाउने र आँफूहरू सजक भएर बस्न आग्रह गरेका छन्। कोरोनाको कारण मृत्य हुनेको संख्या करीब बीस हजार भन्दा माथि नपुग्ने गरी काम भईरहेको र बीस हजार भन्दा तल गराउन सके त्यो नै अहिलेको सफलता मान्नु पर्ने स्थिति रहेको समेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *