कोरोनाभाइरसका पुराना बिरामीको रगतबाट नयाँ बिरामीको सफल उपचार

डिसी नेपाल
१९ चैत २०७६ १३:०४

काठमाडौं। कोरोनाभाइरसको भयानक प्रकोप बढिरहेका बेला वैज्ञानिकहरुले राहत दिने खबर दिएका छन् । वैज्ञानिकहरुले कोरोनाभाइरसका ५ गम्भीर बिरामीको उपचार रगतबाट गरेका छन् । उपचारमा प्रयोग गरिएको यो रगत ती बिरामीहरुको हो जो पहिले कोरोनाभाइरसबाट संक्रमित थिए । उपचारको यो विधिको अध्ययन चीनमा गरिएको हो । यसरी उपचार गरिएका ५ जना बिरामीमध्ये ३ जना निको भएर घर फर्किइसकेका छन् भने २ जना अस्पतालमै छन् तर ती २ जनाको पनि स्वास्थ्यमा धेरै सुधार भइसकेको वैज्ञानिकहरुले बताएका छन् ।

यी बिरामीको उपचारमा संलग्न डाक्टरहरुले पुराना बिरामीको रगतको माध्यमबाट गपरिने उपचारको यो पद्धतिबाट धेरै बिरामीहरुलाई निको पार्न सकिने विश्वास लिएका छन् । डेलिमेलले प्रकाशित गरेको समाचारअनुसार चीनको द शेनझेन थर्ड पिपुल्स हस्पिटलले आफ्नो उपचारको यो तरिकाको रिपोर्ट मार्च २७ मा प्रकाशित गरेको थियो । अस्पतालका अनुसार पुराना बिरामीको रगतबाट उपचार गरिएका ५ जना बिरामी ३६ देखि ७३ वर्ष उमेर भित्रका थिए ।

वैज्ञानिकहरु यसरी पुराना बिरामीको रगतबाट नयाँ बिरामीको उपचार गर्ने पद्धतिलाई कोभेलेसेन्ट प्लाज्मा भन्छन् । यो पद्धतिबाट कैयौं घातक रोगहरुको उपचार भइसकेको छ । यो पद्धतिमा नयाँ बिरामीको रगतमा पुराना बिरामीको रगत राखेर प्रतिरोधी क्षमता बढाइन्छ । यो पद्धतिमा रगतभित्र भाइरससँग लड्नको लागि एन्टिबडी बन्छन् । यी एन्टिबडी भाइरससँग लडेर तिनीहरुलाई मारिदिन्छन् वा भाइरसलाई दबाउँछन् ।

शेनझेन थर्ड अस्पतालमा संक्रामक रोगहरुको अध्ययनको लागि नेशनल क्लिनिकल रिसर्च सेन्टर पनि छ । करिब १२ दिन पहिले यी ५ जना बिरामी कोरोनाभाइरस संक्रमित पाइएका थिए । यीमध्ये ३ पुरुष र २ महिला थिए । शेनझेन अस्पतालका डाक्टरहरुले पुराना ठिक भइसकेका बिरामीको रगतबाट यी नयाँ बिरामीको उपचार गरे । अस्पतालका उपनिर्देशक लिउ यिंगजियाका अनुसार ३० जनवरीदेखि नै कोरोनाबाट ठिक भएका बिरामीहरुको खोजी सुरु भएको थियो ।

त्यसपछि डाक्टरहरुले पुराना बिरामीको रगतबाट प्लाज्मा निकालेर सुरक्षित राखेका थिए । नयाँ आएका बिरामीहरुलाई त्यही प्लाज्माको डोज दिइयो । लिउ यिंगजियाले आफूहरुको यो आधारभूत तरिकाको उपयोग विश्वले गर्न सक्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रोग्रामका प्रमुख डा. माइक रियानले चीनको यो पद्धतिलाई राम्रो भनेका छन् । उनले यसलाई समयअनुसार सही कदम भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *