र्‍यापिड टेष्ट किटबाट बाँकेमा कोरोना परीक्षण शुरु

डिसी नेपाल
२९ चैत २०७६ ९:४६

बाँके । बाँकेमा कोभिड–१९ को  र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण शुरु भएको छ।

भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार बैजनाथ गाउँपालिकाको एकान्तवासमा बसेर १४ दिनको अवधि गुजारेका दुईमा किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ। ती व्यक्तिको परीक्षण गरेर नेगेटिभ देखिएमा घरमा थप सात दिन एकान्तबासमा बस्ने गरी पठाइने छ।

पोजिटिभ नतिजा आएमा भने एकान्तबासमा राखी पुनः पिसिआर प्रविधिबाट जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताए । परीक्षणका लागि बाँकेमा पाँच सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ४९१ जना एकान्तबासमा छन्।

आरडिटी किटबाट परीक्षण शुरु भए पनि लागि पोलिमर चेन रिएक्सन (पिसिआर) यन्त्रबाट भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न भने अझै एक हप्ता लाग्ने भएको छ । पिसिआर यन्त्रको जडान भइरहेकाले सेवा सञ्चालन गर्न समय लाग्ने भेरी अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । अझै एक हप्तासम्म यन्त्र जडानका लागि समय लाग्ने उनको अनुमान छ।

क्वारेन्टाइनबाट ५५ जना घर फिर्ता

नवलपरासीः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का क्वारेन्टाइनमा बसेका ५५ जना १४ दिनपछि घर फर्केका छन् । जिल्लामा बाँकी रहेका १४० जना अहिले पनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

जिल्लाका सात स्थानीय तहमा कुल १४ स्थानमा ३१६ शय्याका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्वी चन्द्र अस्पताल, शहीद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेशनको समेत व्यवस्थापन गरिएको छ ।

जिल्लामा रहेका विभिन्न क्वारेन्टाइन र आइसोलेशन वार्डमा ११५ मात्र गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा १४ दिनसम्म निरन्तर बसेका २० जनालाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन रेपिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण शुरु गरिएको छ।

परीक्षण गरिएकामध्ये २० जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *