कोरोनाभाइरसविरुद्ध ७० किसिमका खोप विकसित हुँदै, ३ वटा खोप परीक्षणको चरणमा
काठमाडौं। कोरोनाभाइरस नियन्त्रणका लागि विश्वभरी भइरहेका प्रयासअन्तर्गत अहिले ७० किसिमका खोप विकसित भइसकेका छन् । यीमध्ये ३ किसिमका खोपहरु परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसरी परीक्षणका चरणमा पुगिसकेका मध्ये चीनमा विकसित भइरहेको खोपले परीक्षणको सबैभन्दा धेरै चरण पार गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणमा पुगिसकेको छ । अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण गर्ने क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ ।
कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्छ। तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। र, यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ। अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन्। अक्सफोर्डको टिमले यसअघि मर्स भाइरसका लागि विकास गरेको खोपलाई कोरोनाभाइरसविरुद्ध लड्न सक्ने गरी रुपान्तरण गरिरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment