विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले कति रकम दिन्थ्यो ? सहयोग रोकिँदा कस्तो असर पर्छ ?

डिसी नेपाल
३ वैशाख २०७७ १०:३०

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिका सरकारले दिँदै आएको रकम रोक्न आदेश दिएका छन् । डब्लुएचओले पक्षपात गरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै उनले यस्तो आदेश दिएका हुन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पारदर्शिता नदेखाएको समेत आरोप लगाएका छन् । विश्व स्वासथ्य संगठनको तर्फबाट उठाइएका कदम चीनका लागि सहयोगी भएको उनले आरोप लगाए । विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सबैभन्दा धेरै रकम दिने गरेको हुँदा हुँदै पनि अमेरिकामाथि पक्षपात गरिएको ट्रम्पको आरोप थियो ।

डब्लुएचओलाई अमेरिकाले कति रकम दिन्छ ?

विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । यसले विश्वभर सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्छ । डब्लुएचओले विश्वभरी स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिरहेको हुन्छ । यी कार्यक्रम संचालन गर्नको लागि विश्वभरीका देशहरुले डब्लुएचओका लागि लगानी गर्छन् । डब्लुएचओमा लगानी गर्ने देशहरुमध्ये अमेरिका सबैभन्दा धेरै लगानी गर्ने देश हो ।

अमेरिकाले गत वर्ष डब्लुएचओलाई ४ सय मिलियन डलर दिएको थियो । यो रकम डब्लुएचओको कूल बजेटको १५ प्रतिशत हुन आउँछ । यो फण्डिङको तुलना चीनसँग गर्ने हो भने चीनको लगानी भने निकै कम देखिन्छ । गत वर्ष चीनले डब्लुएचओलाई ७६ मिलियन डलर दिएको थियो । यसबाहेक १० मिलियन डलरको अतिरिक्त सहयोग गरेको थियो ।

अब यदि अमेरिकाले यो लगानी रोक्यो भने डब्लुएचओको कार्यक्रम संचालनमा ठूलो धक्का लाग्नेछ । यसको पुष्टि स्वयं विश्व स्वास्थ्य संगठनले गरेको छ । अमेरिकाले लगानी रोक्ने निर्णय गरेपछि डब्लुएचओले यस किसिमको निर्णय गर्ने यो सही समय नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले गएको मार्च महिनामा एक अभियान चलाएको थियो । यो अभियान अन्तर्गत उसले कोरोनाभाइरस महामारीसँग लड्नको लागि विभिन्न देशहरुसँग सहयोग संकलन गरेको थियो । यो अभियानमा अमेरिका र चीन सबैभन्दा धेरै सहयोग गर्ने देशहरुमध्येका थिए । डब्लुएचओको वेबसाइटमा दिइएको जानकारी अनुसार कोरोना महामारीसँग लड्नको लागि चीनले २ करोड १ लाख डलर सहयोग गरेको थियो । अमेरिकाले १ करोड ४६ लाख ९४ हजार ६५० डलर सहयोग गरेको थियो ।




प्रतिक्रिया

One thought on “विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले कति रकम दिन्थ्यो ? सहयोग रोकिँदा कस्तो असर पर्छ ?

  1. राजा बिना राज्य अड्किदैन अमेरिका को सहयोग बिना WHO नचल्ने हैन सहि लाई सहि गलत लाई गलत भन्नै पर्यो त्यो मुला ट्रम्स घमन्डी भयेर हुन्छ र तेस्को घमन्ड ले आफै लाई सिध्याउछ Good job WHO

Leave a Reply

Your email address will not be published. Required fields are marked *