‘अमेरिकाले डिपोर्ट गरेका सयौं आप्रवासीमध्ये आधा कोरोनाभाइरस संक्रमित भेटिए’

डिसी नेपाल
३ वैशाख २०७७ १२:०७

काठमाडौं। अमेरिकी आप्रवासन प्राधिकरणले ग्वाटेमाला डिपोर्ट गरेका आप्रवासीहरुमध्ये आधा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ग्वाटेमालाका शीर्ष स्वास्थ्य अधिकारीले मंगलबार यसको खुलासा गरे । ग्वाटेमाला सिटीमा संवाददाताहरुसँग कुरा गर्दै त्यहाँका स्वास्थ्यमन्त्री ह्युगो मोनरोयले यस्तो खुलासा गरेका हुन्। यद्यपि उनले कति संख्यामा आप्रवासीहरु संक्रमणसहित देशमा आए र कहिलेदेखि कहिलेसम्म उनीहरु ग्वाटेमाला आए भन्ने खुलाएनन् ।

लस एन्जल्स टाइम्सका अनुसार गएका हप्तामा मात्र सयौंको संख्यामा ग्वाटेमालनहरु अमेरिकाबाट फर्केका छन् । पछिल्लो पटक अमेरिकाको टेक्ससबाट सोमबार मात्र १८२ ग्वाटेमालनहरु फर्केका थिए । मोनरोयका अनुसार एउटा जहाजमा आएकाहरुमध्ये त ७५ प्रतिशत नै संक्रमणसहित आएका थिए । यद्यपि उनले त्यो उडानबारे विस्तृत खुलाएनन् । उनका अनुसार कैयौं डिपोर्टीहरु ज्वरो र खोकीको लक्षणसहित आएका थिए र तत्कालै उनीहरुको परीक्षण गरिएको थियो ।

‘हामीले एउटा मात्र उडानको बारेमा कुरा गरिरहेका छैनौं’ उनले भने ‘हामीले सबै उडानको कुरा गर्दैछौं ।’ यद्यपि पछि सरकारले जारी गरेको एउटा भिडियोमा भने मोनरोय आफ्नो पहिलेको बयानबाट पछि हटे र आफूले एउटा मात्र उडानलाई संकेत गरेको बताए । यद्यपि ग्वाटेमालाको विदेश मन्त्रालयले मंगलबार एक प्रवक्तामार्फत कोभिड १९ संक्रमित भेटिएका ग्वाटेमालन डिपोर्टीको संख्या ४ रहेको बताएको छ जसमध्ये एक जना सोमबार आएको जहाजमा आएका थिए ।

अमेरिकाले डिपोर्ट गरेका आप्रवासीमा ठूलो संख्यामा संक्रमण भएको कुराले अमेरिकाको नजरबन्दमा रहेका कति आप्रवासी संक्रमित छन् भन्ने आधिकारिक तथ्यांकमा प्रभाव पार्न सक्छ । अहिले अमेरिकाको नजरबन्दमा ३३ हजार भन्दा धेरै आप्रवासी छन् र अमेरिकी आप्रवासन अधिकारीहरुले उनीहरुमध्ये ७७ जनामा संक्रमण पाइएको जनाएका छन् । उनीहरुले यी संक्रमितमध्ये केही अब आफ्नो कस्टडीमा नभएको हुन सक्ने बताएका छन् । यस विषयमा लस एन्जल्स टाइम्सले प्रतिक्रिया माग्दा अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले कुनै प्रतिक्रिया दिन चाहेन ।

केही हप्तादेखि ग्वाटेमालन अधिकारीहरुले ट्रम्प प्रशासनले आफ्नो देशमा डिपोर्सनमार्फत संक्रमण फैलाउन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका थिए । ग्वाटेमालाले १७ मार्चमा उडान स्थगित गरेर डिपोर्सन रोकेको थियो तर २ दिनपछि नै यो प्रतिबन्ध हटाउँदै पुनः उडान सुरु गरिएको थियो । मार्च ३० मा ग्वाटेमालाका उपराष्ट्रपति गिलेर्मो क्यासिलोले एक स्थानीय रेडियोसँग कुरा गर्दै अमेरिकासँग ग्वाटेमाला पठाइने डिपोर्सन उडान रोक्न बिन्ती गरेका थिए । त्यसपछि यी उडान केही समय रोकिएका थिए तर सोमबार पुनः सुचारु भए ।

अर्को उडान स्थानीय समयअनुसार मंगलबार दिउँसो तय भएको थियो तर ग्वाटेमालन अधिकारीहरुले यो जहाज कतिबेला आइपुग्यो वा छैन भन्ने प्रस्ट पारेका छैनन् । ग्वाटेमाला अहिले क्वारेन्टाइन अर्डरमा छ र मंगलबारसम्म यहाँ १५० एक्टिभ केस र ५ जनाको मृत्यु भएको छ । अमेरिकामा २१ जना अमेरिकी आप्रवासन कर्मचारीहरु पोजेटिभ टेस्ट गरिएका छन् । उनीहरु आप्रवासीलाई राखिएको नजरबन्द केन्द्रमा कार्यरत कर्मचारी हुन् । यीमध्ये १३ जना अलेक्जान्ड्रिया लामा कार्यरत कर्मचारी हुन् जहाँबाट ग्वाटेमाला र अन्य देशमा डिपोर्सन उठान पठाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *