चीन र अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन परीक्षणमा तीब्रता, कहाँसम्म पुग्यो उपलब्धी ?

डिसी नेपाल
३ वैशाख २०७७ १२:५१

काठमाडौं। अमेरिका र चीनमा तीनवटा फरक–फरक सम्भावित कोभिड–१९ भ्याक्सिनको मानव परीक्षणले तीव्रता लिएको छ । यी तीनवटै भ्याक्सिनको स्वयंसेवकहरुमा परीक्षण कार्य अगाडि बढिसकेको छ तर यिनीहरुले काम गर्छन् भन्ने प्रमाणित हुन भने केही समय लाग्नेछ ।

समाचार एजेन्सी एपीका अनुसार चीनको क्यान्सिनो बायोलोजिक्सले स्वयंसेवीहरुमा पहिलो चरणको परीक्षण पूरा गरी दोस्रो चरणको परीक्षण सुरु गरिसकेको मंगलबार चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । अमेरिकामा नेशनल इन्ष्टिच्युट अफ हेल्थ (एनआइएच) र मोडर्ना इन्कर्पोरेटले विकसित गरेको खोप पनि चीनको खोपभन्दा त्यति धेरै पछाडि छैन । गत महिना खोपको पहिलो डोज दिइएकी स्वयंसेवीलाई मंगलबार दोस्रो डोज दिइएको छ ।

एनआइएचका संक्रामक रोग प्रमुख डा. एन्थोनी फाउसीले समाचार एजेन्सी एपीसँग कुरा गर्दै अहिलेसम्मको परीक्षणमा कुनै नकारात्मक संकेत नदेखिएकोले अर्को चरणको ठूलो परिमाणको परीक्षण जूनमा सुरु गर्न सकिने अपेक्षा गरिएको बताएका छन् । तेस्रो भ्याक्स्नि, जसलाई अमेरिकाको इनोभियो फार्मास्युटिकल्सले विकास गरिरहेको छ, यो भ्याक्सिनको पनि गत हप्ता मानवमा परीक्षण सुरु भइसकेको छ । अमेरिकामा परीक्षण सुरु भएको यो खोपको विकासकर्ता कम्पनीले चीनमा समेत यसको मानवीय परीक्षण विस्तार गर्ने अपेक्षा गरेको छ ।

खोपको प्रारम्भिक परीक्षण सुरक्षामा केन्द्रित छन् । दुवै देशका अनुसन्धानकर्ताहरुले फरक फरक डोजको परीक्षण गरिरहेका छन् । तर, दोस्रो चरणका प्रवेश गर्नु भनेको झनै नाजुक चरण हो जहाँ यो भ्याक्सिनलाई ठूलो संख्याका मानिसहरुमा परीक्षण गर्ने अनुमति दिइन्छ ताकि खोपले संक्रमणबाट रक्षा गर्न सक्छ कि सक्दैन भन्ने संकेत देखियोस् ।

गत हप्ता क्यानसिनोले एक रिपोर्ट पेश गरेको थियो जसमा उसले अर्को चरणमा ५ सय जनामा खोप परीक्षण गर्न चाहेको बताएको थियो । सोमबारसम्म २७३ जना स्वयंसेवीलाई यो खोपको परीक्षण शट दिइसकिएको छ । फाउसीका अनुसार यो नयाँ कोरोनाभाइरस गर्मी महिनामा पनि यसैगरी फैलिइरह्यो भने उनले यसअघि भनेको १२ देखि १८ महिनाको अवधिभन्दा पहिल्यै परीक्षण पूरा गर्न सकिनेछ ।

‘अहिलेसम्म यो प्रभावकारी हुन सक्ने संकेत देखिएको छ’ फाउसीले भने ‘सबैभन्दा मुख्य कुरा बजारमा आउनका लागि यो प्रभावकारी हुनैपर्छ र यो सुरक्षित हुनैपर्छ ।’ उता चीनमा पनि एक प्रेस कन्फ्रेन्समा अधिकारीहरुले यो अध्ययन सही तरिकाले गरिनुपर्नेमा जोड दिए । ‘हामी अहिले आकस्मिक अवस्थामा र हतारमा छौं भन्दैमा हामीले यसको सुरक्षा र प्रभावकारिताका विषयमा निर्धारित मापदण्डसँग सम्झौता गर्न सक्दैनौं’ चिनियाँ बायोफार्मास्युटिकल विशेषज्ञ वांग जुन्जीले भने ।

विश्व स्वास्थ्य संगठनले यो हप्ता ५ दर्जनभन्दा धेरै भ्याक्सिनहरु विकासको क्रममा रहेको तथ्यांक सार्वजनिक गरेको थियो । कैयौं अनुसन्धान समूहहरु एकजुट भएर यसको अध्ययन छिटो बनाउन प्रयास गरिरहेका छन् । मंगलबार भ्याक्सिन उत्पादनमा नाम चलेका २ कम्पनीहरु सानोफी र जीएसकेले मिलेर काम गर्ने घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *