अमेरिकाको प्रमुख औषधी कम्पनीले नै ठूलो परिमाणमा कोरोना संक्रमण फैलाएपछि…

डिसी नेपाल
३ वैशाख २०७७ १३:२४

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिइरहेका बेला ठूला औषधी उत्पादन कम्पनीहरु यसको उपचार र भ्याक्सिनको खोजीमा लगातार प्रयासरत छन् । अमेरिकाका ठूला औषधी तथा भ्याक्सिन उत्पादन कम्पनीहरु दिनरात उपचार र भ्याक्सिनको खोजीमा जुगेका छन् । तर, यही बीचमा अमेरिकाको एक प्रमुख औषधी उत्पादक कम्पनीले नै ठूलो मात्रामा कोरोनाभाइरसको संक्रमण फैलाएको खुलासा भएको छ । यो कम्पनीका कार्यकारी र कर्मचारीहरुले अन्जानमै अमेरिकाका विभिन्न राज्यमा संक्रमण फैलाएको पाइएको न्यूयोर्क टाइम्सको समाचारमा जनाइएको छ ।

अमेरिकी औषधी कम्पनी बायोजेनका कर्मचारी र कार्यकारीहरुले अमेरिकाका कम्तीमा ६ राज्यमा कोरोनाभाइरस फैलाएको खुलासा भएको छ । गएको फेब्रुअरी २६ मा बोस्टनको मेरिओट लाउन्ज वार्फ होटलमा बायोजेन कम्पनीको वार्षिक लिडरशिप मिटिङ भएको थियो । यहाँ कोही कोरोनाभाइरस संक्रमित थिए तर थाहै नपाइँ यहाँ जम्मा भएको भीडमा संक्रमण फैलियो । यसको केही दिनमै म्यासाचुसेट्स राज्यमा ठूलो परिमाणमा संक्रमित भेटिए । म्यासाचुसेट्स राज्यमा भेटिएका ९२ जना संक्रमितमध्ये ७० जना यो कन्फ्रेन्ससँग सम्पर्कमा रहेकाहरु थिए ।

यो कन्फ्रेन्सबाट निस्किँदा बायोजेनका कर्मचारीहरुलाई कुनै लक्षण देखिएको थिएन । उनीहरु यात्रुले भरिभराउ विमानमा यात्रा गरे । गाडी चलाएर आफ्ना परिवारसँग घरमा गए र उनीहरुले अमेरिकाका ६ राज्यहरुसँगै डिसी र अन्य ३ देशमा कोरोनाभाइरस लिएर गए । अधिकारीहरुले यो कन्फ्रेन्सबाट संक्रमित भएका ९९ जना आधिकारिक रुपमा गणना गरेका छन् । म्यासाचुसेट्स डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार यी संक्रमित कन्फ्रेन्समा सहभागी भएका र उनीहरुको सम्पर्कमा आएकाहरु हुन् र यी म्यासाचुसेट्स राज्यका मात्र हुन् । पूरै अमेरिकामा यो संख्या निकै बढी भएको अनुमान गरिएको छ ।

इण्डियाना राज्यमा पनि सुरुवाती २ केस बायोजेनकै कार्यकारीहरु थिए । टेनेसीमा पनि पहिलो केस बायोजेनसँग सम्बन्धित नै थिए । नर्थ क्यारोलिनाका सुरुवाती ६ केस पनि यसैसँग सम्बन्धित थिए । कम्पनीका कम्तीमा २ शीर्ष कार्यकारी पोजेटिभ पाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *