गभर्नरहरुको ट्रम्पलाई चुनौती – ‘ट्रम्प राजा होइनन्, उनले भन्दैमा सबै कुरा मान्दैनौं’

डिसी नेपाल
३ वैशाख २०७७ १३:४९

काठमाडौं। २ दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कहिले प्रतिबन्ध खोल्ने भन्ने विषयमा आफूसँग पूरा अधिकार रहेको बताएका थिए । उनले राष्ट्रपतिले चाहेमा देशको प्रतिबन्ध खोल्न सक्ने बताएको भोलिपल्टै न्यूयोर्कसहितका राज्यका गभर्नरहरु ट्रम्पविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनीहरुले ट्रम्प राजा नभइ राष्ट्रपति भएको भन्दै उनले भन्दैमा सबै कुरा मान्न आफूहरु बाध्य नहुने बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरसका कारण न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ । यहाँ १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले प्रतिबन्ध खोलेर त्यहाँका नागरिकको जीवन जोखिममा पार्न खोजेको भन्दै न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमोले ट्रम्पले भनेका हरेक कुरा मान्न आफू बाध्य नहुने बताए । उनले ट्रम्प देशको राष्ट्रपति भएको र देश संचालनको लागि संविधान भएको भन्दै ट्रम्पको एकाधिकार नचल्ने प्रतिक्रिया दिए । गभर्नर कुमोलाई अन्य गभर्नरहरुले पनि साथ दिएका छन् ।

मंगलबार राष्ट्रपति ट्रम्पको उक्त कदमको तीव्र विरोध गर्दै गभर्नर कुमोले भने, ‘ट्रम्प राजा होइनन्, राष्ट्रपति हुन्, हामी उनले भन्दैमा प्रतिबन्ध हटाउन सक्दैनौ । यदि ट्रम्पले मलाई प्रतिबन्ध हटाउन आग्रह गरे भने पनि म त्यस्तो काम गर्न सक्दिन, मेरो यसमा स्पष्ट अडान छ । यस्तो कामले जनताको जीवनलाई खतरामा पार्दछ । यो डरलाग्दो समयमा हामीले तानाशाही मनोवृत्तिबाट अलग रहनुपर्छ ।’

उनले ट्रम्प अमेरिकाका राष्ट्रपति भएको तर राजा नभएको बताउँदै आफुले सँगै काम गर्न चाहेको बताए । उनले भने, ‘यस भाइरसले कुनै अमेरिकन, डेमोक्रयाट वा रिपब्लिकन भन्दैन, अहिले सचेत हुनुपर्छ, राजनीति पछि पनि गर्न सकिन्छ ।’ राष्ट्रपति ट्रम्प न्युयोर्क लगायतका राज्यहरुमा लगाइएका प्रतिबन्धहरु खुलाएर आर्थिक गतिविधि सुरु गर्ने पक्षमा छन् । तर राज्यहरुले भने कोरोना संक्रमण नियन्त्रण गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

पूर्वी र पश्चिम तटीय राज्यहरुले त सरकारको विरुद्धमा गठबन्धन समेत बनाएका छन् । राष्ट्रपति ट्रम्पले यसलाई विद्रोहको संज्ञा दिँदै आएका छन् । यही कुरा बुझेर राष्ट्रपति ट्रम्पले सोमबार राज्यका गभर्नरहरुलाई अप्रत्यक्ष रुपमा धम्की दिँदै भनेका थिए, ‘राष्ट्रपतिको रुपमा म प्रतिबन्ध खोल्ने आदेश पुनः दिन सक्छु । तर न्युयोर्क टाइम्सले संविधानविदहरुको भनाईलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पसँग त्यस्तो अधिकार नभएको दाबी गरेको छ । अमेरिकाका ७ वटा राज्यका गभर्नरहरुले राष्ट्रपति ट्रम्पलाई चुनौती दिइरहेका छन् । न्युयोर्क, न्यु जर्सी, रोड आइल्यान्ड, कनेक्टिकट, डेलावेयर, म्यासाचुसेट्स र पेन्सिलभेनिया राज्यका गभर्नरहरुसँग ट्रम्पको टकराव देखिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *